प्रस, रौतहट, १४ वैशाख/
नेकपा माओवादी केन्द्रका दुईजना नगरप्रमुखलाई पार्टीबाट निष्कासित गरिएको छ।
नेकपा माओवादी केन्द्र, रौतहट जिल्ला समिति सदस्यसमेत रहेकी मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेतबाट निष्कासित गरेको छ।
दुवैजना २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए।
माओवादी र एमालेबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी नेकपा कायम गराएको थियो। तर सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको आदेशले उक्त पार्टी एकता वैधानिक नभएको र साबिकै छुट्टै पार्टी कायम रहेको फैसला गरेको थियो। सो फैसलापश्चात् रौतहटका दुईजना नगरप्रमुखले नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा उनीहरू नेकपा एमालेमा प्रवेश गरेका थिए।
साधारण सदस्य स्वीकार गरी राजनीतिक गतिविधिमा संलग्न भएका कारण उनीहरूमाथि माओवादी केन्द्रले विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेतबाट निष्कासित गरेको हो। उनीहरूसँग स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण चित्तबुझ्दो नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना जारी गरी निष्कासित गरेका हुन्।