प्रस, सेढवा, १२ वैशाख/
पर्सा जिल्लामा सङ्क्रमित बढे पनि स्थानीय पालिकाहरूमध्ये केहीले विद्यालय बन्द गरेका छन् भने केहीले सञ्चालनमा ल्याएका छन्।
साना उमेरका बालबालिकामा दोस्रो चरणको कोभिडको सङ्क्रमण फैलिने सम्भावना बढी भएको प्रचारप्रसार भइरहे पनि केही पालिकाले कक्षा ५ सम्मको अध्ययन बन्द गरेका छन् भने केही पालिकाले पूर्णरूपमा अध्ययन बन्द गरेका छन् भने केहीले पूर्णरूपमा विद्यालय सञ्चालनमा ल्याएका छन्।
जगरनाथपुर, छिपहरमाई, कालिकामाई, पकाहामैनपुर, धोबिनी गाउँपालिकाले कक्षा ५ सम्मको अध्ययन बन्द गराएका छन्। कक्षा ६ देखि १२ को पठनपाठन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिइएको छ।
छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गापामा अहिले परीक्षा सञ्चालन छ। यसैगरी, पोखरिया नपा र धोबिनी गापामा पनि कक्षा १ देखि १० सम्मको परीक्षा भइरहेको छ। २० गतेसम्म परीक्षा हुने र त्यसपछि विद्यालय बन्द गरिने सूचना जारी गरिएको छ।
जीराभवानी, ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापामा संस्थागत र सामुदायिक विद्यालय सञ्चालनमा छन्। सञ्चालित विद्यालयहरूमा सामाजिक दूरी तथा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरिएको छैन।
कोरोनाको सङ्क्रमण बढेसँगै बल्ल आएर विद्यालयले साबुन–पानीले हात धुन लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने जस्ता कार्यहरू शुरू गरेका छन्।
ठोरी गापाका शिक्षा शाखा प्रमुख अमृतलाल श्रेष्ठले पूर्णरूपमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना नगरिए पनि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा रहेको बताए। उनले सामुदायिक विद्यालयमा दूरी कायम गरेर अध्यापन गराउने अवस्था नभएको हुँदा सोबाहेक हात धुने, सेनिटाइज गर्ने र मास्क अनिवार्य गरी अध्यापन भइरहेको बताए।
पटेर्वासुगौली गापाले थर्मल गनको प्रयोग गरी ज्वरो नापेर विद्यालयमा प्रवेश गराउने व्यवस्था गरेको छ। केही विद्यालयहरूमा अहिले पनि साना तहमा मास्कको प्रयोग अनिवार्य गरिएको छैन। जसले गर्दा विद्यार्थीहरू मास्क नलगाएर अध्ययन गरिरहेका छन्।