प्रस, वीरगंज, १२ वैशाख/
हतियार र लागूऔषध जिल्ला प्रहरी कार्यालय, पर्सामा नबुझाएको कसूरमा एकजना प्रहरीलाई नियन्त्रणमा लिएर कारबाई शुरू गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
जिप्रका पर्सामा आयोजित पत्रकार सम्मेलनमा उनले २ थान स्वचालित पेस्तोलसहित लागूऔषध कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको र सो सम्बन्धमा एकजना प्रहरीले बरामद हतियार, लागूऔषध कार्यालयमा नबुझाएको प्रमाणित भएपछि निजलाई पक्राउ गरी कारबाई शुरू गरिएको बताए।
वैशाख ८ गते रक्सौलबाट वीरगंज आउने क्रममा शङ्कराचार्य गेटनजीक पक्राउ परेका मकवानपुर, मनहरी–५ बस्ने २५ वर्षीय राजु रानामगरबाट २ थान स्वचालित पेस्तोल र गोली बरामद भएको थियो। उनी ८/९ वर्षदेखि लागूऔषध कारोबारमा रहेका र रक्सौलबाट काठमाडौं पु–याउने काममा उनको संलग्नता रहेको अनुसन्धानबाट देखिएको बताए। उनी पक्राउ पर्नु २० दिनअघि काठमाडौं बस्ने राम प्रजापतिसँग मिलेर पेस्तोल खरीद गर्ने योजना बनाएको र रक्सौलका मुमताज भन्ने व्यक्तिसँग दुईवटा पेस्तोल रु १ लाख ५० हजार मोलतोल गरी पेश्की दिएको प्रहरीले बताएको छ।
लागूऔषधको कारोबारमा संलग्न लालबाबू सिंहको सहयोगमा उनीहरूले एक सय थान इन्जेक्सन, १२ सय थान नाइट्रोभ्याट ट्याबलेट, स्वचालित पेस्तोल र गोली लिएर वीरगंज बसपार्कको मनकामना गेस्ट हाउसको १०५ नं कोठामा बसेको बताए। गेस्ट हाउसमा बसेकाहरूको बारेमा सिंहले नै प्रहरी अवधेशप्रसाद यादवलाई सूचना दिएको र उनीसमेत रोशन सिंह, नन्दन सिंह मिलेर दिउँसै गेस्टहाउसमा छापा मारी उनीहरूको सामान लुटपाट गरेका थिए।
सो घटनापछि रानामगर अर्को पेस्तोल खरीद गर्न आएको र पक्राउ परेपछि यो घटना सार्वजनिक भएको हो। घटनामा संलग्न श्यामबाबू कुशवाहा र अरविन्द गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ। गेस्टहाउसबाट लुटिएको हतियार वीरगंज महानगर–१५ स्थित रोशन सिंहको घरदेखि सय मिटर दूरीमा सूर्योदय नगरको झाडीबाट बरामद भएको प्रउ पाण्डेले बताए।
प्रउ पाण्डेले घटनामा प्रहरी जवान यादवसहित लालबाबू सिंह, श्यामबाबू कुशवाहा, अरविन्द गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए। उनीहरूविरुद्ध लागूऔषध, हातहतियार र सङ्गठित अपराध सम्बन्धमा मुद्दा दायर गरिएको प्रउ पाण्डेले जानकारी गराए।