प्रस, वीरगंज, १० वैशाख/
ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख र आर्थिक प्रशासन (लेखा) शाखालगायतमा लागेको ताला दुई साता बित्न लाग्दा पनि खुलेको छैन। बिबिए प्रवेश परीक्षाको लागि लिएको अन्तर्वार्तामा त्रुटि भएको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले चैत ३० गते र राष्ट्रिय विद्यार्थी सङ्घले चैत ३१ गते तालाबन्दी गरेका थिए।
विद्यार्थी सङ्गठनहरूले बिबिएको प्रवेश परीक्षामा अनियमितता भएको र जेहेन्दार विद्यार्थीलाई पाखा लगाएर राजनीतिक दल तथा आफन्तका विद्यार्थीलाई भर्ना लिने भन्दै तालाबन्दी गरेका थिए।
तालाबन्दी गरेका विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनले तालाबन्दीपछि संवाद नचाहेको आरोप लगाएका छन्। क्याम्पस प्रमुख डा उमेश चौरसियाले विद्यार्थीहरूको आरोपमा सत्यता नभएको बताए। उनले त्रिविको निर्देशन अनुसार तोकिएको मापदण्डमा परीक्षा भएको र क्याम्पसले लिएको अन्तर्वार्तामा पनि सोही मापदण्ड पालना गरिएको दाबी गरे। उनले यस विषयमा विद्यार्थी सङ्गठनहरूसँग संवादमार्फत समस्याको समाधान गर्न आफू हरबखत प्रयासरत रहेको बताए।
बारम्बार संवादको प्रयास गर्दा पनि असफल भएको उनको भनाइ थियो। बिबिए प्रवेश परीक्षाको लागि वैशाख ३ गतेसम्म अन्तिम समय थियो। सो अवधिअगावैदेखि क्याम्पसमा तालाबन्दी भएको कारण भर्ना प्रक्रिया प्रभावित भएको छ। ठाराब क्याम्पसमा बिबिएमा ६६ वटा सिट छ। खुलामा ६० जना र सामुदायिक विद्यालयका ६ जना विद्यार्थी गरी ६६ जना भर्ना लिनुपर्नेमा अहिले विवाद भएपछि भर्ना प्रभावित भएको हो।
ठाराब क्याम्पसमा अन्य सङ्कायमा भर्ना खुलेको बेला पनि तालाबन्दी हुँदै आएको छ।