राधेश्याम पटेल, परवानीपुर, १० वैशाख/
गत चैत ३१ गते कोरोना महामारीको कारण मध्य तराईमा दैनिक कोरोना सङ्क्रमितको मृत्यु हुने क्रम जारी छ। शुरूमा पर्साको कालिकामाई गापा–२ का एकजना ६३ वर्षीय वृद्धको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको थियो। शुक्रवार साँझ साढे ४ बजेसम्म पर्साका ६, बाराका २, सर्लाहीका १ र भारतीय १ गरी थप १० जनाको मृत्यु भइसकेको छ। १० जनामध्ये दुईजनाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ भने ८ जनाको नारायणी अस्पतालमा मृत्यु भएको छ। ८ जनामध्ये ५ जनाले भेन्टिलेटर सेवा नपाएको मृतकका परिवारले आरोप लगाएका छन्।

भरतपुरको मृत्युलाई जोड्ने हो भने पर्सा, बारा, सर्लाही र एकजना भारतीय गरी कुल ११ जनाको मृत्यु भइसकेको अवस्थामा नारायणी अस्पताल वीरगंजका चिकित्सकहरूको चरम लापरवाही देखिएको पीडितहरूको गुनासो छ। सर्लाही, मलङ्गवा–२ का ४२ वर्षीय पुरुष गत वैशाख ७ गते आइसियूमा छटपटिंदा पनि नारायणी अस्पतालमा भेन्टिलेटरको कुनै व्यवस्थापन नमिलाइएको उनको परिवारले आरोप लगाएका छन्।

भेन्टिलेटर जडान गरी सङ्क्रमितको उपचारको लागि अस्पताल प्रशासनले प्राविधिक तयारी नगरेकोले भेन्टिलेटर नपाएर अनाहकमा करीब ५ जना सङ्क्रमितले ज्यान गुमाएको पीडित परिवारको आरोप छ। एकजना सङ्क्रमितका छोराले भने, “भेन्टिलेटरमा राखेर उपचार गर्न भन्दा पनि कुनै सुनुवाइ भएन। न बाहिर रेफर गरियो, न भेन्टिलेटरमा राखियो, अनाहकमा ज्यान गयो। आफ्नो पितासँग यस्तो भयो भने अरूसँग पनि यस्तै भएको होला।” नारायणी अस्पतालमा ५ वटा भेन्टिलेटर छ। तर हालसम्म मृत्यु भएका ८ जनामध्ये ५ जनाले भेन्टिलेटर नपाएको आरोप छ।

यसबारे अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले पाँचजनाको मृत्यु भेन्टिलेटर सेवा नपाएर भएको स्वीकारे। तर उनले भेन्टिलेटरमा राख्नुपूर्व नै उनीहरूको मृत्यु भएको बताए। उनले कुनै घटनामा परिवारजन नमानेको र कुनै घटनामा सङ्क्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था नदेखिएको प्रस्ट्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here