प्रस, निजगढ, ९ वैशाख/
नेपाली काङ्ग्रेस निजगढ नगरपालिकामा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद बढेको छ।
एक पक्षले १४२ जना क्रियाशील सदस्य थप गरेर ल्याएपछि अर्को पक्षले सोको विरोध गर्दै बिहीवार पत्रकार सम्मेलन गरेको थियो।

नगरप्रमुख एवं काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुरेशकुमार खनालले पार्टीको विधानविपरीत क्रियाशील सदस्यता थप गरिएको भन्दै चर्को विरोध गरे।

विसं २०७१ मा १३औं महाधिवेशनमा छुट भएका १४ जना क्रियाशील सदस्यता कायम गर्ने भनी नगर सभापति महेशी कुमरले किर्ते गरेर १४२ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको नगरप्रमुख खनालले आरोप लगाए।

उनले पार्टीभित्रको आन्तरिक झमेला मिलाउनेभन्दा चर्काउनेतर्फ एक पक्ष सक्रिय रहेको र गलती सच्याउनुभन्दा सदस्यता भएकाहरूलाई लुकीछिपी घरमा गएर वितरण गर्ने कार्य भइरहेकोप्रति आपत्ति व्यक्त गरे। उनले विधानविपरीत बनेका क्रियाशील सदस्यता खारेज गर्न माग गरे।

नगर सभापति कुमरले भने विधान र परिपत्र अनुसार सदस्यता थप गरेको दाबी गरेकी छन्। उनले प्रक्रियाविपरीत कसैलाई पनि सदस्यता नदिएको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here