प्रस, वीरगंज, ९ वैशाख/
नारायणी अस्पतालमा एकजना महिला र एकजना पुरुष गरी दुईजना सङ्क्रमितको बिहीवार बिहान मृत्यु भएको छ।
वीरगंज महानगरपालिका वडा नं १६ निवासी ६१ वर्षीय महिला र वडा नं १९ विन्ध्यवासिनी निवासी ६३ वर्षीय पुरुष सङ्क्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए। महिला सङ्क्रमितको बिहान सवा एक बजे र पुरुष सङ्क्रमितको बिहान पौने ११ बजे मृत्यु भएको उनले बताए। महिला सङ्क्रमितको वैशाख ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनलाई वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता डा दासले बताए।
यसैगरी, पुरुष सङ्क्रमित वैशाख ५ गते अस्पताल भर्ना भएका र उनको पिसिआर पोजिटिभ रिपोर्ट वैशाख ६ गते आएको थियो। आज बिहान १०ः५० बजे उनको मृत्यु भएको प्रवक्ता डा दासले बताए। योसँगै नारायणी अस्पतालमा कोरोना सङ्क्रमित सातजनाको मृत्यु भइसकेको छ।