प्रस, वीरगंज, ८ वैशाख/
वीरगंज महानगरपालिकाको ब्यानर लबुचेमा फहराइएको छ। सगरमाथा आरोहणका क्रममा पर्सा जिल्ला ठोरी गाउँपालिका–५ बस्ने हरेराम खड्काले वीरगंज महानगरको ब्यानर लबुचेमा फहराएका हुन्। उनी हिजो मङ्गलवारसम्म सगरमाथाको ६ हजार १ सय १९ मिटर उचाइसम्म पुगिसकेका थिए।
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि खड्कालाई वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महानगरपालिका कार्यालयबाट दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेका थिए। खड्काले सगरमाथाको ६ हजार एक सय १९ मिटर उचाइमा रहेको लबुचेमा पुगेर वीरगंज महानगरपालिकाको ब्यानर फहराएको फोटो सार्वजनिक गरेका थिए।
नेपालको दक्षिणी सिमानाको समथल भूभागबाट उत्तरी सिमाना सगरमाथा आरोहणको क्रममा लबुचेमा महानगरपालिकको ब्यानर फहराएर खड्काले वीरगंजको गौरव बढाएको नगरप्रमुख सरावगीले प्रतिक्रिया व्यक्त गरे। उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर वीरगंज महानगरपालिकाको ब्यानर त्यहाँ पनि फहराउन सफल हुनु भनी खड्कालाई शुभकामना दिए।