प्रस, वीरगंज, ६ वैशाख/
जिल्ला प्रशासन कार्यालय, पर्साले सोमवारदेखि मास्क नलगाएर हिंड्नेहरूलाई रु एक सय जरिवाना गर्न शुरू गरेको छ।
जिप्रका, पर्साको आदेशमा पर्सा प्रहरीले रानीघाट, भानुचोक, माईस्थान, घण्टाघर क्ष्Fेत्रमा मास्क नलगाएर हिंड्नेहरूलाई आजदेखि रु एक सय जरिवाना गरेर मास्क लगाउँदैछ। सवारीसाधन चलाउने र पैदल हिंड्ने अधिकांशले कोरोनाको कारण मास्क लगाए पनि अहिले पनि २० प्रतिशतभन्दा बढी मानिस मास्कविना हिंड्डुल गर्दैछन्।
कोभिड सङ्कट व्यवस्थापन समितिले बारम्बार मास्क अनिवार्य लगाएर घरबाहिर हिंड्न अनुरोध गर्दै आए तापनि अटेर हुँदै आएको थियो। उच्च अदालत वीरगंज इजलासले आइतवार मास्क अनिवार्य गर्न जिल्ला प्रशासन कार्यालयसमेतको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि आजदेखि मास्क नलगाउनेलाई रु एक सय दण्डित गरिएको हो।
घण्टाघरमा आज बिहानैदेखि प्रहरीले मास्क नलगाउनेलाई रु एक सय जरिवाना गर्दै मास्क लगाउन अनिवार्य गरेको थियो। पछिल्लो चरणमा वीरगंजमा कोरोना सङ्क्रमण बढ्दै छ। चैतदेखि आजसम्म करीब चार सयजना सङ्क्रमित र चारजनाको मृत्यु भइसकेको छ।

७८ जनामा कोरोना सङ्क्रमित पुष्टि
प्रस, वीरगंज, ६ वैशाख/
नारायणी अस्पतालको प्रयोगशालाले ७८ जना सङ्क्रमित पुष्टि गरेको छ।
अस्पतालका प्रवक्ता डा दासले १४१ जनाको पिसिआर परीक्षण गरिएकोमा ७८ जना सङ्क्रमित पुष्टि भएको बताए। पर्साका ७०, बाराका ४, सर्लाहीका २ र वाग्मती तथा नेपालगंजका १/१ जना गरी ७८ जना सङ्क्रमित पुष्टि भएको बताए। यसमा २३ जना महिला छन्। सोमवार पुष्टि भएको सङ्क्रमितमध्ये ४ देखि ६१ वर्ष उमेरका छन् र उनीहरूमा १३.१ देखि ३५.५ सम्म सिटि भ्यालु रहेको प्रवक्ता डा दासले बताए। आइतवार सङ्क्रमित पुष्टि भएका ६१ जनामध्ये १९ जना अस्पतालमा भर्ना भएका छन्। योसमेत अस्पताल भर्ना हुनेको सङ्ख्या ३७ पुगेको छ। होम क्वारेन्टाइनमा आइतवारसम्म २९० जना रहेको र अहिलेसम्म १३ जना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइसकेको प्रवक्ता डा दासले बताए।
प्रस, रौतहट/
रौतहटमा ७ जना कोरोना सङ्क्रमित भएका छन्। चपुर, दुर्गाभगवती, कटहरियामा १/१ जना र गौर तथा फतुवाविजयपुर नगरपालिकामा २/२ जना सङ्क्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here