प्रस, वीरगंज, ४ भदौ/
जिल्ला प्रशासन कार्यालय, पर्साले बुधवार साँझ प्रेस नोट जारी गर्दै भदौ ३ गतेसम्म पर्सा जिल्लामा ३४६ जना महिला गरी १ हजार ६०६ जना कोरोना सङ्क्रमित रहेको जनाएको छ।
कोरोना सङ्क्रमितमध्ये १९ जना भारतीय नागरिक, १०६ जना स्वास्थ्यकर्मी, ७३ जना सुरक्षाकर्मी, ६ जना पत्रकार, ८९ कैदी थुनुवा, ४० जना अस्पताल सफाइकर्मी र २ जना एम्बुलेन्सचालक रहेको जिप्रका पर्साले जनाएको छ। ७० जना महिला गरी ३३८ जना उपचारपछि निको भई घर फर्किएका छन्।
जिप्रका, पर्साको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमितहरूमध्ये २३ जना महिलासहित १२८ जना विभिन्न अस्पतालको आइसोलेशनमा छन्। त्यस्तै, १७५ जना महिलासहित ५७६ जना होम आइसोलेशनमा, ३२ जना महिलासहित १३८ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।
हालसम्म १६ हजार ६८६ जनाको स्वाब सङ्कलन गरिएकोमा ६१८ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको जिप्रका, पर्साले जनाएको छ।
सङ्क्रमितहरूको उपचारको लागि नारायणी अस्पताल मातहतमा रहेका गण्डक अस्पतालमा ७०, वीरगंज हेल्थकेयरमा १२० र नारायणी अस्पतालमा २० शय्या गरी २१० शय्याको आइसोलेशन वार्ड चालू अवस्थामा रहेको तथा ४८० शय्याको सेमिआइसोलेशन तथा १ हजार २४५ शय्याको क्वारेन्टाइन निर्माण भएको जिप्रका, पर्साले जनाएको छ।