प्रस, वीरगंज, ३ वैशाख/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई शुक्रवार शपथग्रहणसहित प्रमाणपत्र वितरण गरिएको छ।
प्रमुख निर्वाचन अधिकृत जगदीशप्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, उपाध्यक्ष (महिला) सुषमा शर्मा, सचिव भूषण यादव, सहसचिव जियालाल साह, सहसचिव (समावेशी) जीतेन्द्र साह, कोषाध्यक्ष सञ्जीव मिश्रलगायत सदस्यहरू तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्य गरी ३१ जनालाई पद तथा गोपनीयताको शपथग्रहणसहित निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा प्रमुख निर्वाचन अधिकृत शर्माले सानो समयावधि प्रदान गरी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएकोमा आगामी दिनमा सो नगरिदिन सुझाए। उनले आर्थिक समस्यासमेतलाई ख्याल गरी आगामी दिनमा निर्वाचन प्रक्रिया सम्पन्न गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष एवं प्रदेश २ का नवनिर्वाचित महासचिव श्याम बन्जाराले पत्रकारितामा भएका विकृति, विसङ्गतिलाई पाखा लगाएर असल पत्रकारिता गराउनेतर्फ नेपाल पत्रकार महासङ्घ, पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई सुझाव दिए। उनले व्यावसायिक पत्रकारितालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गरे।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दासले नवनिर्वाचित पदाधिकारी, सदस्यहरूलाई पत्रकारको वृत्ति विकासलाई प्राथमिकता दिन सुझाव दिए।
नवनिर्वाचित अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा महासङ्घ भवनमा अतिथिगृह बनाउने, पत्रकारहरूलाई तालीम दिई दक्ष बनाउने प्रतिबद्धता जाहेर गरे।
उपाध्यक्ष (महिला) शर्माले निर्वाचित सबैलाई बधाई ज्ञापन गरिन्।
प्रमुख निर्वाचन अधिकृत शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत शत्रुघ्न नेपालले गरेका थिए।