प्रस, परवानीपुर, ३ वैशाख/
वीरगंज–पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग टाँसिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ।
गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धूलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्। ड्राइपोर्ट–परवानीपुर सडकखण्ड, परवानीपुर–जीतपुर सडकखण्ड, गण्डक–परवानीपुर सडकखण्डमा करीब एक दर्जन कोइला भण्डारण गर्ने फर्म सञ्चालन छन्। भारत तथा विदेशबाट खरीद गरी यस क्षेत्रको कोइला डिपोमा कोइला भण्डारण गर्ने र वीरगंज कोरिडोर तथा देशका विभिन्न क्ष्Fेत्रमा रहेका सिमेन्ट उद्योगलाई उक्त कोइला बेच्ने गरिन्छ। कोइलाको धूलोले आँखा तथा स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै श्वासप्रश्वास तथा क्यान्सर रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन्। परवानीपुरस्थित मुर्तामाईनजीकै अश्विनी गुप्ताले सञ्चालन गरेको मुर्तामाई कोइला डिपोले परवानीपुर प्रहरी चौकी आसपासका पसले तथा यात्रीहरूलाई ठूलो समस्या उत्पन्न गराएको यस भेगका बासिन्दाहरू बताउँछन्। भाडामा डिपोको जग्गा लिएर शिवम्, अर्घाखाँची, होङ्सी, घोराही, अग्निलगायत सिमेन्ट उद्योगका लागि रक्सौलको मितेरी पुलनजीकै रहेको रेलवे यार्डबाट कोइला टिपरमा लोड गरी त्यहाँ पु–याइन्छ।
कोइला डिपो सञ्चालकहरूले आवश्यक मापदण्ड पूरा नगरेको र फर्म सञ्चालन गर्न सम्बन्धित निकायबाट वातावरणीय प्रभाव मूल्याङ्कनविना नै कतिपय फर्म सञ्चालनमा रहेको बताइन्छ।
त्यसैगरी, परवानीपुर गापानजीकै सर्वोत्तम सिमेन्टको कोइला डिपोले पनि राजमार्गका यात्री तथा बासिन्दालाई दुःख दिएको गुनासो छ। अर्को चोर्नीस्थित मोहन राजपालको मोनालिसा डिपो, डाबर नेपालनजीकै नेपाल कोल प्रालि, लालपर्सामा रहेको सबुरी कोइला डिपो, ड्राइपोर्टको बाटोमा हरपतगंजनजीकै रहेको ऋद्धिसिद्धि कोइला डिपोले सो क्ष्Fेत्रका वातावरणमा प्रदूषण फैलाएको र स्वास्थ्य जोखिम बढाएको स्थानीयको भनाइ छ।