सुग्रीव साह, भिस्वा, २ वैशाख/
कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले कोरोना सङ्क्रमण बढेसँगै सीमामा आवतजावत गर्न कडाइ गर्ने निर्णय गरे पनि पर्सा जिल्लाको वीरगंज–रक्सौल सीमाबाहेक सबै सीमानाकामा सहज आवतजावत भइरहेको छ।
वीरगंजको शङ्कराचार्य प्रवेशद्वारमा थर्मल गन, एन्टिजेन परीक्षण र यात्रा विवरण टिपोट गरी आवतजावत गर्न दिए पनि अन्यत्र कतै पनि यस प्रकारका कार्य भएको छैन।पर्सा जिल्लाको वीरगंज महानगरपालिकासँग जोडिएका इनर्वा (सहदेवा–महदेवा), अलौं (हरैया), श्रीसिया (पन्टोका), विन्ध्यवासिनी गापाको अमरपट्टि (सिसवा–सनौहा), जगरनाथपुर गापाको जानकीटोला (इनर्वा), पाँडेपुर(इनर्वा), छिपहरमाई गापाको भिस्वा (सिकटा), जीराभवानी गापाको महादेवपट्टि (भङ्गाहा), ठोरी गापाको ठोरी (भिखनाठोरी), निर्मलबस्ती (मानपुर), विजयबस्ती (धुम्बाटाँड, जसौली) सीमा क्षेत्रमा कुनै प्रकारका स्वास्थ्य मापदण्डको पालना भएको छैन। यी क्षेत्रबाट मानिसहरू पैदल र सवारीसाधनमा निर्बाध आवतजावत गरि रहेका छन्।