प्रस, निजगढ, २ वैशाख/
नयाँ वर्षको अवसरमा निजगढमा पिकनिक खाई घर फर्कने क्रममा बुधवार योजनाबद्ध ढङ्गले आक्रमण भएपछि एकजना अचेत, तीनजना गम्भीर घाइते र सातजनाभन्दा बढी सामान्य घाइते भएका छन्।
घाइते हुनेहरूमा निजगढ नपा–१२ बारथलीका वर्ष ३० का करण गोले अझैसम्म पनि अचेत रहेको आफन्तजनले जनाएका छन्। गम्भीर घाइते हुनेहरूमा सोही ठाउँका वर्ष ३२ का उमेश स्याङतान, वर्ष ३५ का वर्तमान लुङ्वा, वर्ष ४२ का विनोदकुमार लामा, वर्ष ३४ का अर्थमान लुङ्वा, वर्ष ४२ का लालवीर थिङ छन्। उनीहरूको टाउको, पिठ्यूँ र छात्तीमा चोट लागेको जनाइएको छ।बाराको निजगढ मोहोरी र मकवानपुर बकैया गाउँपालिकास्थित मोहोरी फास्ट ट्र्याक क्षेत्र आसपास हुँदै ट्याक्टर र मोटरसाइकलमा घर फर्कने क्रममा आफूलाई नेपाल आर्मीको जागीरे भन्ने हाल पहिचान खुल्न नसकेको एक व्यक्तिसहित निजगढ नपा–१० लालका भीम बमजन, विष्णु रायमाझी, काले मोक्तान, धनु लोप्चन, बुद्ध घलानसहित २५–३० जनाको समूहले बाँसको फाटाले आक्रमण गर्दा उनीहरू गम्भीर घाइते हुन पुगेका हुन्।
बारथली समूहका महिलासहित स्थानीय पारिवारिक पिकनिक बकैया खोला किनारमा मनाइरहेका बेला मादक पदार्थ सेवन गरी आर्मी रहेको भन्दै निहँु खोज्ने व्यक्तिसहित ४/५ जनाको एक समूह दिउँसो करीब १ः२० बजे आएर डेकको आवाज ठूलो बनाउन, अर्को नै गीत लगाउन जबरजस्ती गरेको र बारथलीका स्थानीयले पिउन राखेको बियरसहितको बोतल आर्मी भन्नेले फुटाइदिएपछि सो झगडाको सुरुआत भएको बुझिएको छ।
बियरको बोतल नफुटाउन भनेपछि आर्मी भन्नेले निहँु खोजेपछि १५/२० मिनेटसम्म भनाभन र विवाद भएको र आर्मीलाई धकेल्दा लड्न पुगी नाकबाट रगत बग्न थालेको घाइते पक्षकाहरूले बताए। मुखसमेत उनले छाडेको र पछि फर्कने क्रममा आफूले देखाउने भन्दै इवी राखेर फर्केको र त्यस समूहका केहीले जे हुनु भयो भन्दै फर्किएको घाइते पक्षको भनाइ छ।
योजनाबद्ध ढङ्गले पछि कुटपिट गर्न उनीहरू आएको पत्तै नभएको घाइते पक्षका विष्णुप्रसाद धमला र लालवीर थिङले भने। “लाल पक्षकाले हामीहरू कतिखेर घर फर्कन्छौं भन्दै दिनभर निगरानी गरिरहेका रहेछन्,” घाइते पक्षका बारथलीका स्थानीयहरूले भने। पिकनिक सकेर कोही मोटरसाइकलमा, कोही ट्याक्टरमा चढेर घर फर्कने क्रममा बकैया गापास्थित मोहोरी फास्ट ट्र्याकको मोडमा हातमा बाँसको लठी र फाटा बोकेर बसेको सो समूहले एक्कासि आक्रमण गर्दा सो घटना भएको भन्दै दोषीहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै आर्मी भन्ने अपरिचित व्यक्तिसहित निजगढ नपा–१० लालका भीम बमजन, विष्णु रायमाझी, काले मोक्तान, धनु लोप्चन, बुद्ध घलानलाई विपक्षी बनाइ इलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएका छन्।
घटनाबारे आफूहरूलाई जानकारी आए पनि यकीन घटनास्थल थाहा नपाउँदा प्रहरी समयमैं पुग्न नसकेको निजगढ प्रहरीले बताए। यता अस्थायी सशस्त्र प्रहरी पोस्ट र अस्थायी प्रहरी चौकी रतनपुरीमा सवारीसाधन नहुँदा घटनास्थलमा प्रहरी टोली पुग्न सकेको थिएन।
गम्भीर घाइते भएका बारथली पक्षका चारजना स्थानीयलाई ट्याक्टर र अटोमा राखी उपचार गर्न निजगढमा ल्याइएको र थप उपचारको लागि हेटौंडास्थित चुरे हिलमा उपचार भइरहेको घाइते पक्षका आफन्तले जनाएका छन्।