प्रस, सेढवा, २ वैशाख/
प्रदेश २ सरकारले जुडशीतलको सार्वजनिक बिदा दिनेसम्बन्धी सूचना दिन ढिलो गरेको कारण सर्वसाधारण र कर्मचारीले सास्ती भोग्नुपरेको छ।
जुडशीतल पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको सूचना प्रकाशनमा ढिलाइ गरेको कारण बिहीवार पर्सा जिल्लाका अधिकांश सामुदायिक विद्यालयको बिहानी कक्षा सञ्चालन भएको थियो।
टिफिनपछि पाँचौं घण्टी लागिसक्दा सामाजिक सञ्जालमा आज सार्वजनिक बिदा दिइएको सूचना पाएको जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा वैद्यनाथ प्रावि गढैयाका प्राध्यापक बादशाह साहले बताए। बिदाको सूचना पाए पनि उनले कक्षा सञ्चालन गरेको बताए। सरकारले एक दिनअगावै सूचना जारी गरेको खण्डमा यस प्रकारको समस्या नहुने उनले बताए।
जीराभवानी गाउँपालिका–२ सेढवामा रहेका बजरङ्ग गल्ला भण्डारका सञ्चालक बालेश्वर यादवले सरकारले घोषणा गरेको सार्वजनिक बिदाले व्यापार गर्न समस्या भएको बताए। किसानसँग खरीद गरेको गहुँको भुक्तानी गर्नुपर्ने हुनाले सार्वजनिक बिदाको कारण बैंक बन्द हुँदा भुक्तानी दिन नसकेको उनले बताए।
स्थानीय तहका अधिकांश कर्मचारी कार्यालयमा पुगेर पुनः घर फर्केका थिए। वीरगंजमा रहेका मालपोत, जिल्ला प्रशासन, यातायात व्यवस्था कार्यालयलगायतका सरकारी कार्यालयमा सेवाग्राही पुग्दा बिदाको कारण कार्यालय बन्द भएकोले सेवाग्राही निराश भएर फर्केको स्थानीयवासीको भनाइ छ।