प्रस, परवानीपुर, २ वैशाख/
चीनबाट सीसा आयात गरी श्रीसिया सुक्खा बन्दरगाह भन्सारलाई झुक्याउन खोज्ने दुर्ईजना आयातकर्तालाई जरिवाना गरी कारबाई गरिएको छ।
गत चैत ८ गते बालाजी ग्लास प्रालि काठमाडौंलाई रु २ करोड ५३ लाख जरिवाना गरिएको थियो भने गत साता राजधानीकै तिरुपति ग्लास उद्योगलाई रु ६ करोड ३३ लाख गरी कुल ८ करोड ८६ लाख जरिवाना गरिएको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्रीले जानकारी गराए।
डा खत्रीका अनुसार आयातकर्ताले कम मोटाइ र परिमाणमा सीसा आयात गरेको घोषणा गरेकोमा जाँचपासमा सीसाको मोटाइ र परिमाण बढी भेटिएकोले भन्सार ऐन अनुसार ५ सय प्रतिशत जरिवाना गरिएको थियो। “आयातकर्ताले घोषणामा साढे ४ एमएम मोटाइको सीसा भनेकोमा जाँचपास गर्दा ५ एमएमभन्दा बढी भेटिएको थियो,” उनले भने, “त्यसैगरी, आयात गरिएकोभन्दा पनि बढी तौल भेटिएकोले कारबाई भएको हो।”
भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले यी दुवै आयातकर्ताले घोषणापत्रमा ढाँटेका हुनाले यस घटनापछि अन्य सामानका आयातकर्ताको घोषणापत्रलाई भन्सार अधिकारीहरूले सूक्ष्म तरीकाले जाँचपास गरिरहेको बताए। उनले भन्सार कर्मचारीलाई झुक्याउने कसैलाई छुट नहुने र दोषी भेटिएको खण्डमा कारबाई हुने बताए। जरिवानाको रकमले भन्सार कार्यालयको मासिक लक्षित राजस्व सङ्कलनमा योगदान पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here