प्रस, वीरगंज, २ वैशाख/
पर्सा प्रहरीले तस्करीको आरोपमा अनुसन्धानका लागि पठाएको ट्रकबाट राजस्व अनुसन्धानले तस्करीको मालसामान फेला पार्न असफल भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पठाएको ट्रक मङ्गलवार चेकजाँच गर्दा ट्रकमा बिलबिजक अनुसारकै मालसामान भेटिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ। भन्सार छलेर भित्रिएको मालसामान लोड भएको भन्दै प्रहरीले वीरगंजबाट सोमवार ना.३ख ७२१० नम्बरको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको थियो।
बिलबिजक अनुसारकै मालसामान फेला परेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टङ्कप्रसाद पाण्डेले बताए। “प्रहरीले नियन्त्रणमा लिएर पठाएको ट्रकको मालसामान भिसिटिएस र बिलबिजक अनुसार नै पाइयो। राजस्व छलेको मालसामान भेटिएन,” प्रमुख पाण्डेले भने।
प्रहरीले पशुपति रोड क्यारियर्सको सो ट्रकमा ४२ लाख रुपियाँँ बराबरको कस्मेटिक, हार्डवेयर र किराना मालसामान फेला परेको भन्दै अनुसन्धानका लागि पठाएको थियो। राजस्वको चेकजाँचको क्रममा कस्मेटिकलगायतका सामान नभेटिएको पाण्डेले बताए। वीरगंजबाट लोड भएर नारायणगढका लागि हिंडेको ट्रकमा अधिकांश कपडा रहेको अनसुन्धानले कार्यालयले बताएको छ। प्रहरीले ट्रक चालक बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का सुरज सिंहलाई समेत राजस्वको जिम्मा लगाएको थियो। यस विषयमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कागजातहरू शङ्कास्पद देखिएर नियन्त्रणमा लिएर पथलैया पठाएको बताए। “हामीलाई खोलेर हेर्न अधिकार छैन, तर बिलहरू सबै शङ्कास्पद थिए,” प्रउ पाण्डेले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here