चिरञ्जीवी सापकोटा, ठोरी, ३० चैत/
निकुञ्जको कारण अवरुद्ध भएको ठोरी हुलाकी सडक निर्माणको माग गर्दै ठोरीको नागरिक अगुवा टोलीले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ।
नागरिक अगुवाहरूसँगको कुराकानीकै क्रममा प्रधानमन्त्री ओलीले निर्माण अवरुद्ध भएको हुलाकी सडकको काम तत्काल अघि बढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको अगुवा टोलीका सदस्यहरूले बताएका छन्। ठोरी नागरिक समाजको समन्वयमा अधूरो हुलाकी सडक सम्बन्धित ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ वटा रूखका कारणले र दुई/चार कट्ठा जग्गाका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोक्न नहुने बताए। उनले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको टोलीमा सहभागी ठोरीका सञ्चारकर्मी हेम चापागाईंले प्रतीकलाई जानकारी गराए।सञ्चारकर्मी चापागाईंका अनुसार प्रधानमन्त्री ओलीले ठोरीका अगुवा टोलीलाई राष्ट्रिय सभागृहमा भेट दिएका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी–माडीको विकासमा कुनै पनि अवरोध भए आफूलाई तुरुन्त जानकारी दिन ठोरीवासीसँग आग्रह गरे।
सो अवसरमा सहभागी उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले ठोरीको विकास निर्माण, सम्भावना र हालको अवरोधबारे चासो राखेका थिए। ज्ञापनपत्र बुझाउँदै अधूरो हुलाकी सडक सङ्घर्ष समितिका अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरुद्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। समस्या र समाधानबारे करीब ३० मिनट प्रधानमन्त्रीसँग छलफल भएको टोलीका सदस्यहरूले बताएका छन्। ज्ञापनपत्रमा राम जन्मभूमि अयोध्यापुरी क्षेत्रमा रामायण सर्किट निर्माणको बारेमा पनि प्रस्ताव गरिएको थियो।