प्रस, गरुडा, २९ चैत/
प्रतीक दैनिकका पुराना स्तम्भकार तथा बज्जिका भाषा र साहित्यका अभियन्ता सञ्जय साह मित्रलाई सर्लाहीको एउटा संस्थाले बज्जिका शिरोमणि सम्मान २०७७ बाट विभूषित गरेको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा बज्जिका समृद्धि समाज गोडैता सर्लाहीले साहित्यकार मित्रलाई बज्जिका भाषा र साहित्यको सबैभन्दा ठूलो उपाधिबाट पहिलोचोटि विभूषित गरेको हो।
समाजका अध्यक्ष जियालाल राय, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, हरिपुर्वा नगरपालिका–३ का अध्यक्ष धर्मराज सिंह तथा सभाध्यक्ष हरिनारायण महतो कुशवाहाले संयुक्तरूपमा साहित्यकार मित्रलाई बज्जिका शिरोमणि उपाधि सम्मानपत्रसहित प्रदान गरेका हुन्।बज्जिका भाषाको बारेमा पहिलो लेख २०५२ सालमा नै प्रकाशित गरी निरन्तर भाषाको विकासको सक्रियतामा रहेका मित्रको नेपालमा बज्जिका भाषाको पहिलो लेख, पहिलो कृति तथा सम्पादनमा पहिलो पत्रिका प्रकाशित छन्। २५ वर्षभन्दा लामो समयदेखि निरन्तर बज्जिका भाषा र साहित्यको सेवामा रहेका मित्रको सक्रियतामा बज्जिकाका विभिन्न सङ्गठन स्थापना पनि भएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा रामचन्द्र महतो कुशवाहाको नाममा दर्ता भई प्रकाशन भएको बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको पहिलो अङ्कको लोकार्पण समारोहमा मित्रलाई सो उपाधि प्रदान गरिनुका साथै बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णलाई बज्जिका सम्राटको उपाधि प्रदान गरिएको छ।
पूर्वी बारादेखि महोत्तरीसम्म बोलिने बज्जिका भाषा २०६८ को जनगणना अनुसार देशको सातौं र प्रदेश दुईको तेस्रो ठूलो भाषाको रूपमा तथ्याङ्कमा देखिएको छ। बज्जिका भाषाको बारेमा निरन्तर चेतना वृद्धि भइरहेकाले आउँदो जेठ–असारमा हुने जनगणनामा बज्जिका भाषाको जनसङ्ख्या तथा प्रतिशत दुवै बढ्ने विश्वास बज्जिका अभियन्ताहरूले व्यक्त गरेका छन्। कार्यक्रममा वडाध्यक्ष सिंहले एक महीनाभित्र बज्जिका भाषाको ठूलो र व्यवस्थित कार्यक्रमको आयोजना गरी सर्लाही र महोत्तरीमा बज्जिका भाषाको विस्तारमा आफूले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सर्लाही र महोत्तरीका शिक्षक, साहित्यकार तथा पत्रकार र समाजसेवीहरू सम्मिलित कार्यक्रममा जियालाल राय, रामचन्द्र महतो कुशवाहा, राजेन्द्र ठाकुर, रेणु गुप्ता, सञ्जय सुदामा, रामनगर गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामपवित्र साह, गभु महतोसहितका वक्ताहरूले दुई उपाधिबाट विभूषित हुने सर्जकको प्रशंसा गर्दै बज्जिका भाषा र साहित्यमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
सर्लाहीबाट प्रकाशन आरम्भ गरिएको बज्जी साहित्यिक त्रैमासिकको विभिन्न पक्षको बारेमा प्रकाशक सम्पादक रामचन्द्र महतो कुशवाहाले प्रकाश पारेका छन्।
पत्रिकाको संरक्षकमा पूर्वप्रजिअ डा कमलेश्वरकुमार सिन्हा, कार्यकारी सम्पादकमा सञ्जय सुदामा, व्यवस्थापकमा किशुनदयाल श्रीकृष्ण, सल्लाहकारहरूमा मनमोहनसिंह मनोहर, महादेव झा, रामपवित्र साह, जियालाल राय र प्रधानसम्पादकमा सञ्जय साह मित्र रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here