प्रस, वीरगंज, २९ चैत/
नेकपा एमालेका नेता तथा नेपाल खेलकूद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेकपा विघटन गराएर अब एमाले विभाजनतर्फ लागेको आरोप लगाएका छन्।
एमालेनिकट युवा सङ्घ नेपाल, बारा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै नेता पौडेलले प्रम तथा पार्टी अध्यक्ष ओलीले पार्टीका इमानदार नेतालाई कारबाई गरेर भ्रष्टाचारीलाई काखी च्यापेको आरोप लगाए। उनले आफूहरू एमालेलाई एकताका साथ अघि बढाएर जनताको पार्टी बनाउन लागिपरेको तर पार्टी अध्यक्ष ओली भने दलाल र भ्रष्टाचारीको पार्टी बनाउन उद्धत रहेको आरोप लगाए। एमालेका केन्द्रीय सदस्य तथा बाराका सहइन्चार्ज दिनेश राईले समाज परिवर्तनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए।
युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले युवाले स्वरोजगार सृजना गरेर आफ्नो खुट्टामा उभिनुपर्ने बताए। एमाले बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरीले आफूहरू रहेको कमिटी नै बारा जिल्लाको संस्थापन र आधिकारिक भएको दाबी गरे। युवा सङ्घ बाराका अध्यक्ष राम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, मुक्ति समाजका उपाध्यक्ष श्रीप्रसाद पासवान, किसान महासङ्घका प्रदेश अध्यक्ष बतहु यादव, खेलकूद महासङ्घका स्थायी कमिटी सदस्य जवाहिर अन्सारी, युवा सङ्घका सचिव अरुण यादवलगायतले शुभकामना दिएका थिए।