माधव तिमिल्सेना, ठोरी, चैत २८/
पर्साको ठोरी गाउँपालिका वडा नं २ इच्छानगरमा शनिवार अपराह्न आगलागीबाट एउटा टोल नै जलेर राख भएको छ। आगलागीबाट ४ वटा घर र २ वटा गोठसमेत ६ घर जलेर नष्ट भएको हो। आगलागीबाट स्थानीय कृष्णबहादुर नगरकोटी र रामबहादुर प्रजाको घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए अनुसार वनको डढेलोबाट गाउँमा आगलागी भएको हो। सामुदायिक वन नजीकै रहेकोले वनको डढेलोको फिलिङ्गो हावाले उडाएर बस्तीमा ल्याएपछि आगलागी भएको हो। आगलागीबाट नगरकोटीको सुन, चाँदी, नगद र अन्नपातसमेत गरेर करीब रु १० लाखबराबरको क्षति भएको इप्रका ठोरीको अनुमान छ। यस्तै, नगरकोटीकै ससुरा पर्ने प्रजाको पनि गरगहना, नगद र अन्नपातसमेत पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। घरभित्र भण्डारण गरिराखेको करीब ९० मुरी (४५ क्वीन्टल) धान जलेर नष्ट भएको छ।
आगलागीबाट नगरकोटीकी छोरी २० वर्षीया शर्मिला नगरकोटीको दाहिने हातमा पोलेको छ। घरमा आगलागी भएपछि वृद्धा हजुरआमालाई बाहिर निकालेर उद्धार गर्दा शर्मिलाको हातमा आगोले पोलेको हो। उनको ठोरी हेल्थ पोस्टमा उपचार गरी घर पठाइएको हेल्थपोस्टले जनाएको छ। स्थानीयवासी, प्रहरी र नेपाली सेनाले निकै प्रयास गरेपछि राति अबेर आगो निभाउन सफल भएका हुन्। आगलागी पीडितहरूको भएभरको सबै चीज आगलागीमा परेकोले उनीहरूलाई तत्काल राहत उपलब्ध गराउनका लागि स्थानीयस्तरमा पहल थालिएको ठोरीका सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले जानकारी दिए।