प्रस, सेढवा, २५ चैत/
सखुवाप्रसौनी गाउँँपालिकाको दलित समुदायले दलित अधिकारको लागि गापा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
दलित अधिकार दबाब समूहको अगुवाइमा बिहीवार दलित समुदायले ज्ञापन बुझाएको हो ।
दलित अधिकार दबाब समूह
वडा नं ४ का संयोजक नागेन्द्र पासवानले गापा अध्यक्ष प्रदीप जैसवाललाई ज्ञापनपत्र बुझाउँदै गापाले अहिलेसम्म दलित समुदायको लागि केही नगरेको, दलित समुदाय स्थानीय सरकार, जनप्रतिनिधिबाट पीडित भएको बताए । ज्ञापनपत्रमा दलितमैत्री बजेट निर्माण, दलित समुदायबाट सङ्कलन गरिएको ७००–८०० रुपैयाँ फिर्ता, दलितमैत्री गाउँँपालिका निर्माण, सामाजिक न्याय कायम, उच्च शिक्षा अध्ययन गर्ने दलित बालबालिकालाई छात्रवृत्ति, चिकित्सकशास्त्र अध्ययन गर्न ६ जना दलित विद्यार्थीलाई छात्रवृत्ति, जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिति गठन, चार वर्षसम्म दलितको नाममा खर्च गरिएको बजेट सार्वजनिक गर्न जस्ता माग उल्लेख छन् ।
दलित समुदायको लागि गाउँँपालिका योजना तथा आगामी नीति तथा कार्यक्रममा समावेश नगरेमा चरणबद्ध आन्दोलन गर्ने दलित अधिकार दबाब समूहका गाउँँपालिका संयोजक सुरेन्द्र पासवानले बताए । उनले अहिले पनि दलितलाई शोषण, दमन, विभेद गर्ने प्रथा कायम रहेको आरोप लगाए ।
सामाजिक न्याय, सामाजिक रूपान्तरण, दलितको जीवन परिवर्तनको लागि गाउँँपालिकाले केही गर्न नसकेको उनको आरोप छ ।
ज्ञापनपत्र बुझाउन दलित अधिकार दबाब समूहका संयोजक सुरेन्द्र पासवान, वडा संयोजक रामस्वरूप पासवान, प्रमेन्द्र पासवान, जयलाल राम, नागेन्द्र पासवान, श्यामकिशोर राम, रामाशिष मुसहर, दलित अगुवा हीरालाल रामलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here