प्रस, वीरगंज, २५ चैत/
नेपाल पत्रकार महासङ्घ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवारहरूको प्यानल विजयी भएको छ भने प्रेस युनियन गठबन्धनका केही सदस्यमा विजयी भएका छन्। बुधवार सम्पन्न निर्वाचनको मतगणना कार्य राति अबेर सकिएपछि निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छ।
महासङ्घ पर्साको कुल १४० मतमध्ये अध्यक्षमा अनुप तिवारी ७५ मत प्राप्त गरी विजयी भएका छन्। उनको एकमात्र प्रतिद्वन्द्वी युनियनका रितेश त्रिपाठीले ६३ मत प्राप्त गरे। त्यसैगरी, उपाध्यक्षमा युवराज खड्का ६३ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी राघव साहले ५९ मत पाए भने उपाध्यक्षका अर्का उम्मेदवार शेखरबहादुर क्ष्Fत्री (छतकुली)ले १३ मत प्राप्त गरे।
महासङ्घका पदाधिकारीमध्ये महिला उपाध्यक्ष र सचिव पदमा ठूलो मतान्तरले चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन्। महिला उपाध्यक्षमा सुषमा शर्माले ८४ मत प्राप्त गरी एकमात्र प्रतिद्वन्द्वी नीलिमा पौडेललाई २९ मतान्तरले पराजित गरिन्।त्यसैगरी, सचिवमा भूषण यादवले ८३ मत प्राप्त गरी एकमात्र प्रतिद्वन्द्वी क्रान्तिप्रसाद साहलाई २९ मतान्तरले पराजित गरे।
पदाधिकारीमध्ये सहसचिवमा सोही प्यानलका जियालाल साहले ७३ मत प्राप्त गरी विजयी भए। उनको निकटतम प्रतिद्वन्द्वी मनोजकुमार पटेलले ५३ मत र सुरेश बिडारीले ११ मत प्राप्त गरे।
सहसचिव समावेशीतर्फ जीतेन्द्र साहले ७३ र प्रतिद्वन्द्वी अमितकुमारले ५६ मत प्राप्त गरे। कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र ७७ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी नीरज पीठाकोटे मगर ६० मत प्राप्त गरी पराजित भए।
कार्यसमितिको सदस्य मधेसीतर्फ तिवारी यादव ८३ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी हरिशङ्कर शर्माले ५१ मत प्राप्त गरे। महिला सदस्यमा कविता खड्काले ७५ मत प्राप्त गरी विजयी भइन्। उनको प्रतिद्वन्द्वी विमला गुप्ताले ५७ मत प्राप्त गरिन्। आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी ७५ मतका साथ विजयी भइन् भने राम मण्डलले ५४ मत प्राप्त गरे।
कार्यसमितिका अन्य समावेशी सदस्यमा भने चौतारी पक्षधरका नेहाल खान ६४ मत प्राप्त गरी पराजित भए भने प्रेस युनियन गठबन्धनका अमित अग्रवाल ६७ मत पाएर विजयी भए। अन्य खुला सदस्यहरू ६ जनामा युनियन गठबन्धनकै अजय चौरसिया र नरेश सर्राफ युनियन गठबन्धनबाट विजयी भए भने बाँकी चारजना धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाहा प्रेस चौतारीतर्फबाट विजयी भए।महासङ््घका तीनजना केन्द्रीय परिष्द सदस्यमा चौतारी प्यानलकै महेशचन्द्र गौतम, विजय भण्डारी र विजय कुशवाहा विजयी भए।
यसैगरी, ९ सदस्यीय प्रदेश परिषद् सदस्यमा चौतारी प्यानलका आशिक अन्सारी, प्रकाश तिवारी, विनोद परियार, कन्हैया गुप्ता, निरञ्जन मिश्र, कन्हैयाकुमार साह र शिवशङ्कर साहसमेत ७ जना विजयी भए भने युनियन गठबन्धनका कृष्णकुमार खनाल र रामनारायणप्रसाद कुर्मी विजयी भएको महासङ्घको निर्वाचन कार्यालयले जानकारी गराएको छ।
महासङ्घ पर्साको कुल १४० मतदातामा सबैजना मतदानमा सहभागी भएका थिए। जिल्लाको मतगणना सम्पन्न भएपनि प्रदेश र केन्द्रको मतपत्र गणना कार्य जारी रहेको निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी गराए।