प्रस, वीरगंज, २१ चैत/
ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणका खेलहरू सम्पन्न भएको छ।
दोस्रो दिनको दोस्रो र तेस्रो चरणको खेलमा सुन्दर साकोस हेटौंडाका कृष्ण थापा, माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अङ्कका साथ संयुक्त अग्रता लिएको आयोजक संस्थाले जानकारी गराएका छन्।ललितपुर स्पोर्ट्स क्लब र ताम्राकार समाजद्धारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको दोस्रो चरणको खेलमा शीर्ष वरीयताका खेलाडी फिडेमास्टर रूपेश जैसवाललाई नोभा साकोर ललितपुरका युवा खेलाडी सुदिप तामाङले पराजित गरेका थिए। सुदिपले तेस्रो चरणको खेलमा दोलखाका मिलन लामासित बराबरी खेले। तामाङसँगै जनता साकोस ललितपुरका सजिन महर्जन, दमकका राजन सुवेदी, सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ, सुरोज महर्जन र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ २ जीत र एक बराबरी खेली ७ अङ्कका साथ संयुक्तरूपमा दोस्रो स्थानमा छन्।
६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। पाँच दिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार पाउने व्यवस्था गरिएको छ।