प्रस, वीरगंज, २० चैत/
कोभिड–१९ सड्ढट व्यवस्थापन समितिको बैठकले सभा, समारोह आयोजना नगर्न र २५ जनाभन्दा भीडभाड हुने गरी काम नगर्न निर्देशन गरे पनि सो निर्देशन सरकारी कार्यालयहरूमैं पालना भएको छैन।
नारायणी अस्पतालमा अहिले पनि कोभिडविरुद्ध कुनै पनि मापदण्ड अपनाइएको छैन। ओपिडीमा पूर्ववत्रूपमा सयौंको सङ्ख्यामा मानिसको भीड लाग्ने गरेको छ। साबुन–पानीले हात धुने वा सेनिटाइजर लगाउने, सामाजिक दूरी बनाउने, मास्क लगाउनेजस्ता स्वास्थ्य मापदण्ड अपनाउन लगाइएको छैन। आफूखुशी कसैले गरेको छ भने ठीक छ, अन्यथा अस्पतालले सो गर्न अनिवार्य बनाएको छैन।
ओपिडीमा चेकजाँच गराउन आउने जगरनाथपुर गाउँपालिका–५ बिजवनियाका अब्दुल कलिम अन्सारीले कोरोना सङ्क्रमण बढेको समाचारले आफू त्रसित भएको तर अस्पतालमा सोविरुद्ध कुनै पनि मापदण्ड नअपनाइएको बताए। उनले स्वास्थ्य परीक्षणको लागि अस्पताल आउनै पर्ने भएकोले आफू आएको तर अस्पतालको अवस्था हेरेर भयभीत भएको बताए। उनले साबुन–पानीले हात धुने वा सेनिटाइजरको प्रयोग, मास्क लगाउने, सामाजिक दूरी बनाउने जस्ता कार्य नभएको–नगराइएको प्रतिक्रिया दिए।नारायणी अस्पतालमा दैनिक ओपिडी सेवामा ४ सयभन्दा बढी मानिसले सेवा लिने गर्छन्। कोरोना सङ्क्रमण बढेपछि यसअघि ओपिडीमा प्रतिविभाग २५ जनालाई मात्र दैनिक सेवा दिइएको थियो।
अस्पतालका कोभिड संयोजक एवं प्रवक्ता डा सरोजरञ्जन दासले कोभिडविरुद्धको अभियान सञ्चालनको तयारीमा रहेको बताए। उनले तुरुन्तै फिभर क्लिनिक सञ्चालन गरिने र ओपिडीमा सेवा लिन आउनेहरूमध्ये ज्वरो, रुघाखोकी हुनेको फिभर क्लिनिकमा चेकजाँच अनिवार्य गराउने व्यवस्था गरिएको बताए। उनले प्रतिविभाग यसअघि गरिएको २५ व्यक्ति निरीक्षणलाई कार्यान्वयन गरिने जानकारी गराए।
अस्पतालमा अहिले मौसम परिवर्तनसँगै झाडापखाला, रुघाखोकी, ज्वरोका बिरामीहरू बढेको उनले बताए। नारायणी अस्पतालको ओपिडीबाहेकका विभागहरूमा पनि स्वास्थ्य मापदण्ड अपनाइएको छैन। गाइनो, सर्जिकल, मेडिकललगायतका वार्डहरूमा साबुन–पानीले हात धुने, मास्क लगाउने र सामाजिक दूरी बनाइएको छैन। पूर्ववत्रूपमा शय्याहरूमा बिरामीहरूको उपचार भीडभाडको साथ भइरहेको छ भने कुरुवाहरूको भीड पनि उत्तिकै छ। आकस्मिक सेवामा पनि खासै स्वास्थ्य मापदण्ड अपनाइएको छैन।
अस्पतालको यो अवस्था छ भने यहींका चिकित्सकहरूद्वारा सञ्चालित क्लिनिकहरूमा पनि बिरामीहरूको अत्यधिक चाप छ। कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाउन सचेत गराउने चिकित्सकहरू पनि आफ्नो क्लिनिकमा स्वास्थ्य मापदण्ड पूरा गराएर बिरामी चेकजाँच गरेको पाइँदैन। कुनै पनि क्लिनिकमा साबुन–पानीले हात धुने, सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग गरिएको छैन भने दूरी कायम गर्ने कुरा परै जाओस्।