माधव तिमल्सिना, ठोरी, २० चैत/
ठोरीमा हुलाकी सडकखण्ड निर्माण अधूरो राखेर भारतीय पक्षले नेपाललाई सडक हस्तान्तरण गरेको विरोधमा शुक्रवार गाउँपालिका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको अवरोधको कारण साबिक ठोरीमा करीब ५ किलोमिटर र अन्यत्र सडकको बीचमा रूख पारेको कारण करीब दुई किलोमिटर सडक निर्माण बाँकी रहेको अवस्थामा सडक निर्माण पूरा गर्न गठित सङ्घर्ष समितिले शुक्रवार ध्यानाकर्षणपत्र बुझाएको हो। सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेल नेतृत्वको टोलीले गापा उपाध्यक्ष शान्तिमाया थिङलाई ध्यानाकर्षणपत्र बुझाएको थियो।
संयोजक पौडेलले स्थानीय सरकारको अनुपस्थितिमा सडक हस्तान्तरण गरेको, राष्ट्रिय निकुञ्जले सडक निर्माणमा अवरोध गर्दा समन्वयकारी भूमिका निर्वाह नगरेको, हुलाकी सडकले चर्चेको घरजग्गाको मुआवजा अझै दिलाउन नसकेकोलगायतका समस्याहरूबारे ध्यानाकर्षण गराइएको थियो। संयोजक पौडेलले अधूरो काम पूरा गराउन र मुआवजा उपलब्ध गराउन पहल गर्न आग्रह गरे। ध्यानाकर्षणपत्र बुझाउँदै संयोजक पौडेलले उल्लिखित मागहरू पूरा नभए आन्दोलन गर्ने चेतावनी दिए। ध्यानाकर्षणपत्र बुझाउनुअघि नागरिक अगुवाहरूको उपस्थितिमा गापा कार्यालयअगाडि नाराबाजी गरिएको थियो। सडक निर्माण सुचारु गर, मुआवजा वितरण गर, मध्यवर्ती क्षेत्र चाहिंदैन, विकास रोक्न पाइँदैन, स्थानीय सरकार किन मौन ? जस्ता नारा लगाइएको थियो।
कार्यक्रममा वडाध्यक्ष रामप्रकाश कुँवर, किशोर तामाङ, काङ्ग्रेसका रामबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रकाश खनाल, माओवादीका खगेन्द्र श्रेष्ठ, कमलविक्रम तिमल्सिनालगायतको सहभागिता थियो। ध्यानाकर्षणपत्र बुझ्दै गापा उपाध्यक्ष थिङले छिट्टै समस्या समाधान हुने आश्वासन दिइन्। उनले यस विषयमा गापाको ध्यानाकर्षण भएको र समस्या समाधानको लागि पहल भइरहेको जानकारी गराइन्।
यसैबीच, वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत चमरीहोलदेखि चौतारासम्मको ठेक्का लिएको कालिका/बानियाँ जेभीले चैत १८ गते बुधवारदेखि म्याद सकिएको भन्दै ठेक्काको काम बन्द गरेको छ। ७ किलोमिटर काम अधूरो भएको अवस्थामा हस्तान्तरण गरिएकोमा ठोरीवासी आक्रोशित भएर विरोध गरेका हुन्। ठेकेदार पक्षले भने निकुञ्जको कारण काम सम्पन्न हुन ढिला भएको बताएको छ। निकुञ्जले अहिलेसम्म आफ्नो क्षेत्रमा काम गर्ने अनुमति नदिएको कारण काम अधूरो भएको ठेकेदार पक्षको स्पष्टोक्ति छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here