चिरञ्जीवी सापकोटा, ठोरी, १९ चैत/
वीरगंज–ठोरी हुलाकी सडक अधूरो नै हस्तान्तरण भएपछि ठोरीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। राजमार्गको चमरीहोलदेखि ठोरीको चौतारासम्म जोड्ने सडक निर्माणको काम पूरा नभएको अवस्थामा हस्तान्तरण भएपछि ठोरीवासी आक्रोशित बनेका हुन्। उनीहरूले निकुञ्ज मातहतको स्थानीय कार्यालयहरूमा बिहीवार तालाबन्दी गरेका छन्।
निकुञ्जको कारण निर्माण अधूरो रहेकै अवस्थामा बुधवार इन्डियन कन्सल्टेन्सीका प्रतिनिधिले हुलाकी राजमार्गका प्रतिनिधिलाई अधूरो सडक हस्तान्तरण गरेपछि ठोरीवासी आक्रोशित भएका हुन्। उनीहरूले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण झन्डै ५ किलोमिटर सडकखण्डको निर्माण कार्य अधूरो छोडी इन्डियन कन्सल्टेन्सीले नेपाली पक्षलाई सडक हस्तान्तरण गरेकै भोलिपल्ट स्थानीयले सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्। चितवन राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष सरोकार राख्ने दुईवटा कार्यालयमा तालाबन्दी गरिएको सङ्घर्ष समितिले जनाएको छ। राष्ट्रिय निकुञ्जले निकास नदिएसम्मका लागि अनिश्चितकालीन तालाबन्दी गरिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्थानीयहरूको भेलाले जगेन्द्र पौडेलको संयोजकत्वमा १७ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ। पौडेलको संयोजकत्वमा गठित सङ्घर्ष समितिका सदस्यहरूमा कमल तिमल्सिना, सन्तोष श्रेष्ठ, प्रकाश खनाल, खगेन्द्र श्रेष्ठ, रञ्जीत थापालगायत सदस्यहरू छन्। निकुञ्जको कारण हुलाकी सडक निर्माण अधूरो रहेको तर निकुञ्ज सम्बद्ध जनप्रतिनधिमूलक एकाइहरूले कुनै पहल नगरेको स्थानीयको भनाइ छ।
हुलाकी सडकले निकुञ्जसँग समन्वय गरी जतिसक्दो छिटो काम सम्पन्न गर्नुपर्ने स्थानीयको ठहर रहेको सङ्घर्ष समिति गठन गर्नुपरेको संयोजक पौडेलले बताए। ठोरी गाउँपालिकाको कार्यालयले समेत राष्ट्रिय गौरवको आयोजनामा कुनै चासो नदिएको र अधूरो सडक हस्तान्तरण हुँदा मौन समर्थन दिएको भन्दै आन्दोलनको माध्यमबाट पालिकाको ध्यानाकर्षण गराइने सङ्घर्ष समितिका पदाधिकारीहरूले चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here