प्रस, परवानीपुर, १९ चैत/
वीरगंजमा जिएसएस–एमयुएनको तेस्रो शृङ्खला शुरू भएको छ। नेशनल इन्फोटेक कलेजको साझेदारीमा गौतम मावि वीरगंजको आयोजनामा तीन दिनको लागि शुरू भएको यो इभेन्टको उद्घाटन हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोशल साइन्स कलेजका निर्देशक पुरनबहादुर जोशीले गरेका थिए। गौतम माविले आयोजना गर्ने भएकोले नमूना राष्ट्रसङ्घीय गतिविधिको बारेमा विद्यार्थीलाई सिकाइ गराउने केन्द्रीय कार्यक्रम रहेकोले यो कार्यक्रमको नाम जिएसएस–एमयुएन राखिएको हो।नमूना संयुक्त राष्ट्रसङ्घीय कार्यक्रममा विद्यार्थीहरूले २३ वटा देशका प्रतिनिधि बनेर विश्वव्यापीरूपमा रहेका समस्या र सोको समाधानका बारेमा संयुक्त राष्ट्रसङ्घका पाँचवटा समितिका कार्ययोजनाबारे आआफ्नो विचार तथा अभिव्यक्ति प्रस्तुत गरी भाषणकलामा आफ्नो क्षमता अभिवृद्धि गर्नेछन्। राष्ट्रसङ्घको सभा जस्तै विद्यार्थीले नमूना छलफल र अभ्यास गर्नेछन्। विद्यार्थीहरूले क्षेत्रीय आर्थिक एकीकरण, जलवायु परिवर्तन, परमाणुको प्रयोग कुन अवस्थामा गर्ने वा कम गर्दै जाने, महिला सशक्तीकरण, रङ्गभेद, जातीय मुद्दा, प्रेस स्वतन्त्रतालगायत विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ। कार्यक्रमको अन्तिम दिनसम्म सबै समूहका सहभागीहरूले छलफल गरेका समस्या र सोको समाधान गर्न आगामी दिनमा सँगै मिलेर अघि बढ्ने मार्गसहित एक/एक वटा घोषणापत्रसमेत सार्वजनिक गर्नेछन्।
कार्यक्रमले शिक्षण प्रणालीबाट बाहिर निस्केर नयाँ अभ्यासको थालनी गरेको बताउँदै अन्य शैक्षिक संस्थाले पनि यसबाट पाठ सिक्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि जोशीले बताए। जिएसएस–एमयुएनका अध्यक्ष एवं गौतम माविका संयोजक एल्विन रेन्जरको सभापतित्वमा भएको कार्यक्रममा नेशनल इन्फोटेक कलेजका निर्देशक मनीष सिंह, गौतम माविका कार्यकारी निर्देशक सोनम लामा, बिआइटी कलेजका रामकुमार शर्मा, नवदीप एकेडेमीकी संस्थापक निर्देशक सुशीला साह, मानव सेवा आश्रम प्रदेश नं २ का संयोजक देवेश गुप्तालगायतको सहभागिता थियो।
राकेशकुमार साहको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण सौराज प्रधान र महिमा साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here