प्रस, सेढवा, १८ चैत/
पर्सा राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले डढेलो नियन्त्रणमा आएको बताए।
उनले निकुञ्जको गडुवालाइन पोस्टको जङ्गलमा बढी डढेलो लागेको र नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका सदस्यहरूको प्रयासमा डढेलो नियन्त्रणमा आएको बताए। उनले जङ्गलमा डढेलो लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको भएपनि डढेलो लागेर वनजङ्गललाई क्षति पुगेको बताए। डिभिजन वन कार्यालय, पर्साका निमित्त प्रमुख फरमान मियाँले राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताए। उनले अहिलेसम्म वसन्तपुर, रङ्गपुर तथा सबैयालगायत क्षेत्रका दर्जनौं स्थानमा लागेको डढेलो नियन्त्रणमा आएको बताए। वनसँग सरोकार रहेका जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयबीच डढेलो नियन्त्रणका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले बताए। निर्मल–ठोरी उपभोक्ताका अध्यक्ष्F बालकुमार बस्नेतले पनि डढेलो नियन्त्रणमा आएको जानकारी गराए। उनले डढेलो लागेको समयताकाको अवस्था भयावह भएको र नियन्त्रणमा समस्या आइपरेको बताए। उनले निकै कठिनाइका बीच डढेलो नियन्त्रणमा आएको र अन्यत्र फैलिन नदिन निगरानी बढाइएको बताए।
पर्सा जिल्लाको राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन गरी ३३ भन्दा बढी स्थानमा डढेलो लागेको थियो। देशभर २८३ स्थानमा डढेलो लागेकोमा पर्सा जिल्लामा सबैभन्दा बढी ठाउँमा डढेलो लागेको सरकारी तथ्याङ्कले जनाएको छ। डढेलो लागेको समयमा त्यहाँबाट निस्केको धूवाँले जिल्लाभरि प्रदूषण बढाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here