प्रस, सेढवा, १८ चैत/
विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयले देशभर २८३ स्थानमा लागेको डढेलोले बढेको वायु प्रदूषणको कारण चैत २१ गते शनिवारसम्मको लागि देशभरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरे पनि पर्सा र बारा जिल्लाका विद्यालयहरू सञ्चालनमा आएका छन्।
प्रदेश २ मा होली पर्व सोमवार मनाइएको र प्रदेश सरकारले मङ्गलवार पनि सार्वजनिक बिदा दिएको कारण बुधवारदेखि विद्यालयहरू सरकारी निर्देशन अनुसार बन्द हुनुपर्नेमा स्थानीय पालिकाहरूको निर्णयबाट विद्यालयहरू सञ्चालनमा आएका छन्। पर्सा, बाराका स्थानीय पालिका र सम्बन्धित निजी तथा आवासीय विद्यालय एशोसिएशन (प्याब्सन) र एन प्याब्सनलगायतले विद्यालय सञ्चालनमा ल्याएका हुन्। वीरगंज महानगरपालिकाले बुधवारदेखि विद्यालय सञ्चालनमा ल्याउन मङ्गलवार मातहतका विद्यालयहरूलाई निर्देशन जारी गरेको थियो। प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले फागु पूर्णिमालगत्तै कतिपय विद्यालय बिहीवारदेखि सञ्चालनमा आइरहेको र कतिपय बुधवार सञ्चालनमा आएको बताए। उनले छिटपुटरूपमा महानगरमा सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएको र केही विद्यालय बन्द भएको बताए। सरकारी र महानगरपालिकाको निर्णय, निर्देशनबाट विद्यालय सञ्चालनमा अलमल भएपनि बिहीवारदेखि विद्यालयहरू सञ्चालनमा आउने जानकारी गराए।
वीरगंज महानगरपालिकाले विद्यालय खोल्न सूचना निकालेको कारण पर्सा जिल्लाका छिपहरमाई, पकाहामैनपुर, सखुवाप्रसौनीलगायतमा पनि सूचना जारी गरी विद्यालयहरू सञ्चालनमा आएका छन्। रामचन्द्र भगत मावि पकाहामैनपुरका प्रधानाध्यापक छोटेलाल प्रसादले महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा आएका र आफ्नो गापाले पनि विद्यालय बन्द नगर्न सूचित गरेको कारण विद्यालय सञ्चालनमा आएको बताए। उनले पालिकास्तरमा वायु प्रदूषणको प्रभाव नरहेको कारण विद्यालय बन्द गर्नुको औचित्य नदेखिएको बताए। केही पालिकामा भने विद्यालयहरूले सरकारी निर्देशनको पालना गर्दै बन्द भएका छन्।
ठोरी गापाका शिक्षा संयोजक भुपाल जोशीले सङ्घीय सरकारको निर्देशनको पालना गर्दै ठोरी गापामा विद्यालय बन्द गरिएको बताए। उनले जङ्गल सीमासँग जोडिएको र वायु प्रदूषणले प्रभावित भएको कारण विद्यालय बन्द गरिएको बताए।
पटेर्वासुगौली गापाका शिक्षा शाखा प्रमुख शम्भु साहले गापा अध्यक्ष हरिनारायण चौधरीले विज्ञप्ति जारी गरेर विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको बताए। उनले कोरोनासमेतको कारणबाट लामो समयसम्म विद्यालय बन्द गरिएको र पाठ्यक्रम अनुसार अध्ययन नहुँदा अहिले पुनः चार दिन बन्द गर्दा समस्या हुने भन्दै आफ्नो गापा मातहतका सम्पूर्ण शैक्षिक संस्था नियमित सञ्चालन गर्न सूचना जारी गरेको बताए। सरकारले विद्यालय बन्द गर्ने र स्थानीय पालिकाले विद्यालय खोल्ने द्विविधापूर्ण निर्णयबीच बुधवार खुलेको दीपनारायण आदर्श नमूना मावि औराहा पंचगावाँमा विद्यार्थी सङ्ख्या न्यून रह्यो। विद्यालयका प्रअ शिवनाथ चौधरीले २० प्रतिशत विद्यार्थी मात्र विद्यालय आएको जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here