महबुब रजा, राजविराज, १४ चैत/
विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेस्रो संस्करणको राजविराज मेयरकप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।
राज रङ्गशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रूपनी राइडर्सलाई १ रनअन्तरले पराजित ग–यो। वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाउन सक्यो।
राइडर्सको लागि नीरज मुखियाले अविजित ५२, सुनील धमलाले २३, अमित यादवले १९ तथा कुशल भुर्तेलले १५ रन बनाए।
वारियर्सको बलिङमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडेन ओभर दिंदै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहनीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनाएको थियो। वारियर्सको लागि ओपनर नीरज यादवले सर्वाधिक ५१ रन बनाए, जसमा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले २९, कप्तान विवेक यादवले २२ तथा भुलावन सहनीले अविजित १३ रन बनाए। पहिलो विकेटको लागि अनिल र नीरजले ५८ रनको साझेदारी गरेका थिए।राइडर्सको बलिङमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए, जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।
उपाधिसहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पारे। यस्तै रूपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए उनले रु २५ हजार प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुश्लिङ्ग र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए उनीहरुले जनही रु १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।
विजेता खेलाडीहरूलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रूपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनारायण देवलगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।