प्रस, सेढवा १४ चैत/
केही दिनदेखि वनजङ्गलमा लागेको डढेलोबाट निस्केको धूवाँका कारण पर्साको ग्रामीण जनजीवन कष्टकर हुनाका साथै स्वास्थ्यमा नराम्रो असर परेको छ।
पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय पर्साका राष्ट्रिय वनमा केही दिनदेखि डढेलो लागेका कारण ग्रामीण भेग नै धूवाँमय भएको छ। जङ्गलमा लागेको डढेलोसँगै र तुवाँलोबाट स्थानीयमा रुघाखोकीको समस्या देखिएको छ। धूवाँबाट ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका उत्तरी भेगका मानिस प्रभावित भएका छन्।जीराभवानी गाउँपालिका–१ शान्तिनगरका दिलबहादुर श्रेष्ठले धूवाँका कारण आखामा पिरो भई पोल्ने तथा आँखाबाट आँसु आउने गरेको बताए। सो धूवाँका कारण सवारीसाधन चलाउनसमेत कठिनाइ भइरहेको श्रेष्ठले गुनासो गरे।
त्यस्तै, पटेर्वासुगौली गाउँपालिका–२ निवासी बिगा रामले हावा चलेको र घाम लागेको बेला धूवाँले असर नगरे पनि बिहान ११ बजेसम्म र साँझतिर धूवाँले निकै प्रभाव पार्ने बताए।
जीराभवानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सफिकुल अन्सारीले धूवाँका कारण श्वासप्रश्वास तथा आँखामा प्रत्यक्ष असर भइरहेको बताए। धूवाँकै कारण क्षयरोग, खोकी र दमलगायतका बिरामी बढ्न सक्ने अन्सारीले बताए।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सुनाखरी वन समितिका अध्यक्ष देवीप्रसाद दहालले आगो निभाउन समितिका सदस्य, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन भइरहेको जानकारी गराए। सो क्षेत्रका वनमा लागेको डढेलो निभाउन सफल भएको अध्यक्ष दहालले दाबी गरे। पर्सा राष्ट्रिय निकुञ्जको सीमासँग जोडेर रहेको चितवन राष्ट्रिय निकुञ्जको वनमा पनि डढेलो लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अलराज बरालले बताए। डढेलो अलि–अलि लागेका कारण अहिले पूर्णरूपमा नियन्त्रण भएको अधिकृत बरालले बताए।
माट्रिका आई फाउन्डेशन वीरगंजका मेडिकल निर्देशक महेश्वर सिंह धामीले डढेलोको कारण धूवाँ र कणबाट आँखाको नानीमा असर पर्ने र आँखाका बिमारीहरू हुन सक्ने बताए।