प्रस, परवानीपुर, १३ चैत/
मालपोत कार्यालय, पर्साका प्रमुख कमोद तिवारीलाई सेवाग्राहीले कुट्ने प्रयास गरेका छन्। शुक्रवार बिहान ११ बजे सेवाग्राहीको समूह उनको कार्यकक्षमा कुट्न पुगेपछि कर्मचारीहरूले उनलाई बचाएका थिए।
वीरगंज–१८ भवानीपुर माइती भई पतिको घर कलैया उपमहानगरपालिका–१८ बस्ने रीतादेवी लोहारिनको नाममा जारी भएको लालपुर्जाको श्रेस्ता च्यातिएको पाएपछि उनका आफन्तजनले कार्यालय प्रमुख तिवारीलाई कुटपिट गरी दुव्र्यवहार गरेका थिए तर सोही समयमा केही कर्मचारीले उनलाई बचाएपछि उनको ज्यान जोगिएको थियो। साबिक भवानीपुर–४, कित्ता नं ४२६ को ८ कट्ठा साढे १२ धुर र कित्ता नं ४२७ को ३ कट्ठा ८ धुर जग्गाको श्रेस्ता भवानीपुर मोठको ढड्डामा नभेटिएपछि मालपोत कार्यालय, पर्सामा विवाद भएको थियो। जग्गाधनी लोहारिनका पति विन्देश्वरी ठाकुर लोहारले महागढीमाई नगरपालिकाको बरियापुरस्थित एनआइसी एशिया बैंकको शाखाबाट ३ कट्ठा ८ धुर जग्गा (घडेरी) धितो राखेर रु ५० लाख ऋण लिने प्रक्रिया चालेका थिए। सोही सन्दर्भमा आज बैंकको रोक्का चिठी लिएर मालपोतमा पुग्दा श्रेस्ता च्यातिएको पाइएपछि विवाद भएको थियो।
यस विषयमा कार्यालय प्रमुख तिवारीले कर्मचारी तथा लेखनदासको मनपरीले मोठबाट श्रेस्ता च्यातिंदै आएकोमा सोको छानबिन भइरहेको बताए। उनले भवानीपुर गाविसमा पर्ने मोठका कर्मचारीहरू राकेश साह, रतेन्द्र साह र कम्प्युटर अपरेटर किरण देवकोटासँग स्पष्टीकरण सोधिएको र दोषी पाइएको खण्डमा कारबाई गर्ने आश्वासन दिए। पीडित रीता देवीले भवानीपुरकै आफ्ना काकाका छोरा सुरेन्द्र ठाकुरले श्रेस्ता च्यातेको आरोप लगाइन्। आफ्नो बुबाकी एक्ली छोरी भएको र सम्पत्तिको हकभोग गरेपछि उनीहरूलाई ईष्र्या लागेर पहिलेदेखि नै विवाद गर्दै आएका र केही महीनाअघि श्रेस्ता च्यातेको उनको आकलन छ।
सुरेन्द्र ठाकुर मालपोत कार्यालय पर्सामा ३५ वर्षदेखि लेखनदासको काम गर्दै आएका छन्। उनले आफूले श्रेस्ता नच्यातेको दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here