प्रस, जनकपुरधाम, १३ चैत/
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीका सुरक्षागार्ड प्रसनि मदनजङ्ग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ। ट्रकको ठक्करबाट उनको ज्यान गएको हो।
शुक्रवार बिहान जनकपुर–बर्दिबास सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका–१० लालगढमा प्रसनि कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। उनको घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार शुक्रवार बिहान करीब ३ बजे बर्दिबासबाट जनकपुरधामतर्फ आउने क्रममा कापर सवार लु.५३प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो।
ठक्कर दिएर फरार ट्रकसहित चालकलाई प्रहरीले सुनसरी जिल्लाबाट नियन्त्रणमा लिएको छ। प्रसनि कापरको शव शल्यपरीक्षणपछि परिवारजनले जिम्मा लिएका छन्। उनी मुख्यमन्त्री गद्दीको सुरक्षामा केही महीनादेखि खटेका थिए। बिदा लिएर घर गएका उनी ड्युटी गर्न मुख्यमन्त्री कार्यालयतर्फ आइरहेका थिए।