प्रस, गरुडा, १३ चैत/
रौतहटको शिवनगरस्थित गणिनाथ–गोविन्द मन्दिर परिसरभित्र धर्मशालाको शिलान्यास गरिएको छ।
कानु समाज कल्याण समिति रौतहटद्वारा होली मिलन तथा बाबा गणिनाथ गोविन्द महाराज यात्री धर्मशाला शिलान्यास समारोहमा प्रदेश सांसद बाबुलाल साह कानुले धर्मशालाको शिलान्यास गरेका हुन्।
प्रदेश सरकारले तत्काल विनियोजन गरेको बीस लाख रुपैयाँको लागतमा निर्माण हुने धर्मशालाको शिलान्यास भएको हो। प्रदेश सांसद साहले विभिन्न स्रोतबाट धर्मशालाको निर्माण कार्यलाई पूरा गराउने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यमा अगाडि बढेर हरेकले समाजको सेवा गर्नुपर्ने बताए।सो अवसरमा कटहरिया नगरपालिकाका वडाध्यक्ष सर्फलाल साह कानुले सामुदायिक कार्य गर्न सजिलो नभए पनि सबै मिलेर कार्य गर्दा कठिन काम पनि सजिलै गर्न सकिने बताए। समितिका जिल्ला अध्यक्ष जयप्रकाश साहको सभापतित्वमा भएको कार्यक्रममा स्वागत गर्दै रामनारायण साहले प्रगतिको लागि सामूहिक एकता आवश्यक भएको बताए।
कार्यक्रममा उपस्थितहरूले होलीको शुभकामना एकापसमा आदानप्रदान गरेका थिए। हरेक वर्ष होलीको समयमा समितिले स्वजातीय मिलन समारोहको आयोजन गर्दै आएको छ। जिल्लाको मध्य भागमा साढे तीन कट्ठा जमीनमा निर्माण भएको गणिनाथ–गोविन्द मन्दिर परिसरमा धर्मशाला निर्माणको आरम्भ गरिएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here