प्रस, पर्सागढी, १२ चैत/
वीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जना सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन्।
विगत वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका उनीहरूले वार्षिक नवीकरण नभएको कारण भत्ताबाट वञ्चित भएका हुन्। वीरगंज महानगरपालिकामार्फत गत फागुनमा पहिलो चौमासिकको भत्ता वितरण भएको थियो तर बेलवाका ७५ जनाले सो भत्ता पाउन सकेनन्। उनीहरूले वार्षिकरूपमा नवीकरणको लागि वडा कार्यालयमा आवेदन भरेका थिए। तर उनीहरूको नवीकरण नभएको कारण भत्ता नपाएको बताइएको छ। बैंकमा सामाजिक सुरक्षा भत्ता लिन गएका उनीहरूले भत्ता नआएको सूचना पाएपछि वडा कार्यालयमा सम्पर्क गरेका थिए। वडासचिव नारायणप्रसाद चापागाईंले सबैजनाको फाराम नवीकरणको लागि महानगरपालिकामा पठाएको र त्यही्रबाट चूक भएको हुन सक्ने बताए। सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएकाहरू नगरप्रमुख विजयकुमार सरावगीसँग भेटेर गुनासो गरेको तर नगरप्रमुख सरावगीले वडास्तरबाट सो काम हुने भएकोले आफूले केही गर्न नसक्ने बताएपछि उनीहरू निराश भएका थिए।
वडाध्यक्ष रेयाज अहमदले ७५ जना सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकामा आफू दुःखी भएको बताए। उनले यसमा वडासचिव दोषी भए निजमाथि कारबाई गर्ने र महानगरबाट त्रुटि भएको खण्डमा प्रक्रियामा जाने बताए। वडाध्यक्ष अहमदले घटनाबारे आफूले छानबिन गरिरहेको जानकारी गराए। सामाजिक सुरक्षा भत्ताको
लागि वार्षिकरूपमा असार मसान्तभित्र सबैले विवरण नवीकरण गराउनुपर्ने नियम छ।