प्रस, परवानीपुर, ११ चैत/
वीरगंजमा सुविधासम्पन्न आधुनिक सपिङ मल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।वीरगंजको औद्योगिक घराना रूँगटा समूहको २० करोड रुपैयाँको लगानीमा आदर्शनगरमा निर्माण भइरहेको ६ तले सपिङ मलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको बताइएको छ। रूँगटा समूहका सदस्य तथा उद्योगपति सुरेश रूँगटाले डेढ महीनापछि सपिङ मल सञ्चालनमा आउने बताए। उनले जेठ महीनामा सपिङ मल तयारी भएर सञ्चालनमा आउने जानकारी गराए। ८ हजार वर्गफिट क्षेत्रफलमा निर्माण भएको सपिङ मलमा लिफ्ट, खानेपानी, शौचालय र अग्नि नियन्त्रक प्रविधि पनि जडान गरिएको छ। वीरगंजमा पछिल्लो समयमा ग्राहक तथा सर्वसाधारणको चाहनालाई मध्यनजरमा राख्दै समूहले सपिङ मल निर्माण गरेको हो।
कोरोनाले गर्दा ६ महीना पहिले तयारी हुनुपर्ने सपिङ मल अबको डेढ महीनापछि सञ्चालनमा आउन लागेको हो।