प्रस, वीरगंज, ९ चैत/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले प्राथमिकताको आधारमा योजना तर्जुमा गर्नुपर्ने बताएका छन्।
प्रदेश २ सरकारको नीति आयोगले वीरगंजमा आयोजना गरेको बजेट तर्जुमा, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी गोष्ठीमा उनले योजना प्रभावकारी कार्यान्वयनका लागि अनुगमन नियमित हुनुपर्ने बताए। उनले योजनाहरूको प्राथमिकीकरण गरेर मात्रै योजना छनोट गर्नुपर्ने र त्यसलाई पूर्णरूपमा सम्पन्न गर्न अनुगमन र खबरदारी आवश्यक रहेको बताए।
नगरप्रमुख सरावगीले कतिपय योजनाहरू अहिले राजनीतिक दलका कार्यकर्ताहरूलाई भर्ना गर्न र पाल्ने खालको भएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए। प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा पर्साको स्थानीय तहका प्रमुखलगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण प्रदेश २ का आर्थिक तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले गरेका थिए।
यसैबीच, नगरप्रमुख सरावगीसँग भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भेटघाट गरेका छन्। कामविशेषले वीरगंज आएका नगरप्रमुख प्रजापतिले सरावगीसँग भेट गर्दै वीरगंज महानगरले गरेको विकासबारे जानकारी लिएका थिए। भेटको क्रममा नगरप्रमुख सरावगीले प्रजापतिलाई वीरगंज महानगरले गरेका कार्य, समस्या र चुनौतीबारे जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here