प्रस, वीरगंज, ८ चैत/
लक्की ड्र परेको भन्दै ठगी गर्ने एक युवकलाई वडा प्रहरी कार्यालय, बिर्ताले आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगर–२२ भवानीपुर निवासी २२ वर्षीय कृष्णकुमार तत्वा रहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। सखुवापरसौनी गाउँपालिकाको कटेया देउरवाना निवासी नूरजहाँ खातुनसँग एक महीनाभित्र पटक–पटक गरी रु १२ लाख ठगेको आरोपमा तत्वालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ।
उनका पति विदेशमा छन्। उनले पठाएको रकम पटक–पटक गरी अहिलेसम्म ११ लाख ७० हजार आइएमईमार्फत तत्वा र राणा प्रतापलगायत १२ जनाको खातामा हालेको प्रमाणको आधारमा तत्वालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। खातुनको मोबाइलमा दुई महीना अघि रु ५० लाख चिठ्ठा परेको भन्दै त्यसको कर बुझाए मात्र सो रकम तपाईंको खातामा जाने बताएपछि उनले भोलिपल्ट नै रु १ लाख २० हजार ठगहरूले भनेको ठाउँमा आइएमईमार्फत पठाएकी थिइन्। ठगको जालमा परेकी खातुनले पतिलाई पनि घटनाको जानकारी नदिई घरको सम्पत्तिसमेत बेचेर पहिले फसेको रकम निकाल्न पटक–पटक रकम दिएको बताइन्। अन्तिम समयमा तत्वाले अन्तिमपटक रु ७० हजार दिए तपाईंले पहिले दिएको रकमसहित रु ५० लाख दिने बताएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन्। मामाघर छपकैया पुगेकी खातुनले सबै घटना बताएपछि मावलीले प्रहरीमा उजूरी गरेको र सोही आधारमा तत्वालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक पाण्डेका अनुसार पक्राउ परेका तत्वाले ठगी गरेको प्रमाण भेटिएको र सो घटनामा नेपाल–भारतका १२ जना दोषी रहेको र उनीहरूको खोजी शुरू भएको प्रहरीले बताएको छ।