प्रस, वीरगंज, ६ चैत/
वीरगंज महानगर–२ छपकैयास्थित श्रीराम कोलोनी जग्गा ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेको प्रेम जाटियालाई हाजिर जमानीमा छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साले जाटियालाई बुधवार बेलुकी हाजिर जमानीमा छाडेको स्रोतले जनाएको छ। जग्गा ठगी प्रकरणमा पर्सा प्रहरीले जाटियालाई दुई साताअगाडि पक्राउ गरेको थियो। पक्राउ परेको तीन दिनपछि प्रहरीले सार्वजनिक गरेको जाटियालाई बुधवार नाटकीय तरीकाले हाजिर जमानीमा छाडेको हो।
यसअघि, जाटिया पक्राउ परेको तेस्रो दिनमैं नाटकीय तरीकाबाट उच्च रक्तचाप र युरिक एसिडको उपचारको लागि नारायणी अस्पतालबाट रेफर भएर वयोधा अस्पतालमा एक साता बसेका थिए। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जाटियाले कानूनी दाउपेंच अवलम्बन गरी उपचारको नाममा अस्पताल भर्ना भएको भन्दै उनी अस्पतालबाट रेफर भएपछि मात्रै बयान लिने बताएका थिए। तर जाटिया चैत ४ गते वयोधा अस्पतालबाट साँझ रेफर भए र जिल्ला प्रहरी कार्यालयले सोही दिन निजलाई बयान नलिइ हाजिर जमानीमा छाडेको थियो।
प्रउ पाण्डेले जाटियालाई हाजिर जमानीमा छाडेको पुष्टि गरे। उनले ठगी प्रकरणका अन्य अभियुक्तको खोजी भइरहेको र पक्राउ नपरेको कारण जाटियालाई हाजिर जमानीमा छाडिएको बताए। यसैबीच, प्रहरीले शुक्रवार भूमिसुधार तथा मालपोत कार्यालय पर्साका चारजना लेखनदासलाई नियन्त्रणमा लिएको छ। जग्गा ठगी प्रकरणमा ती लेखनदासहरूले २०६२ सालमा लेखत लेखेको कसूरमा उनीहरूलाई अनुसन्धानको लागि शुक्रवार बिहान मालपोत कार्यालय पर्साबाट नियन्त्रणमा लिएको हो।
२०६० सालमा श्रीराम कोलोनीको जग्गा गोपाल अग्रवालले खरीद गरेका थिए। मालपोत तथा भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा मोही गायब गरी पुनः सो जग्गा २०६२ सालमा प्रेम जाटियाले खरीद गरेका थिए। १७ वटा कित्तामा बिक्री भएको सो जग्गा १५ वर्षपछि मोही हक लाग्नेहरूले खोजीनीति गरेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
मोहीले अदालतमा मुद्दा दायर गरेपछि श्रीराम कोलोनीको जग्गा खरीद गरी भवन निर्माण गरेका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, पर्सामा सङ्गठित ठगी मुद्दा दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here