प्रस, वीरगंज, ५ चैत/
केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले मन्त्रिपरिषद्लाई सवारी आवागमनसहित १३ वटा नाका खोल्न सिफारिश गरेको छ।
मन्त्रिपरिषद्मा बिहीवार बसेको सिसिएमसीको बैठकले निर्णय गर्दै १३ वटा नाका भएर स्वास्थ्यको उचित मापदण्ड पूरा गर्दै नेपाल प्रवेशमा नाका सहज पारेको हो। सिसिएमसीले गरेको सिफारिशमा ७२ घण्टाअगावैको पिसिआर रिपोर्ट नेगेटिभ आएको कागज लिएर आउनुपर्ने तथा भन्सार कटाएर नेपाल प्रवेश गर्न खोज्ने भारतीय गाडीलाई पनि अनुमति दिने निर्णय गरिएको केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्य–सचिव खगराज बरालले जानकारी गराए। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालमा शुरू भएको लकडाउनसँगै नाकाहरू बन्द गरिएका थिए भने यसले गर्दा कोरोना महामारी नियन्त्रणमा सहयोग पुगेको थियो तर उद्योग–व्यवसायको दृष्टिकोणले विशेषगरी होटल तथा पर्यटन व्यवसायीहरू ठूलो मारमा परेका थिए। जसले गर्दा बेला–बेलामा उद्योगी– व्यवसायीहरूले नाका खोल्न आवाज उठाइरहेका थिए।
यसअघि, सिसिएमसीको निर्णयको आधारमा भारत र चीनसँग टाँसिएका तीसवटा नाका सहज बनाइएको थियो भने सवारी प्रवेशको विषयमा उक्त निर्णयले कुनै व्याख्या नगर्दा गृह मन्त्रालयले भारतीय सवारीसाधनलाई रोकेपछि भारतीय पर्यटकहरू आउन सकेका थिएनन्। त्यस कारण गाडीसहित नाका खोल्नुपर्ने माग गर्दै बुधवार वीरगंजको एक टोलीले सिसिएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र पर्यटनमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here