प्रस, जनकपुरधाम, ५ चैत/
प्रदेश नं २ का ८ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेड भारतबीच सम्झौता भएको छ। दुई पक्षबीच ‘प्रदेश नं २ ग्रामीण विद्युतीकरण आयोजना’ नामकरण गरिएको उक्त योजना कार्यान्वयनका लागि करीब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो। प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो। प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ समूहमा विभाजन गरिएको छ।
आयोजनामार्फत विद्युत् आपूर्तिलाई भरपर्दाे र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरूसहितका ३३/११ केभी, १६.६ एमभिए क्षमताका ८ वटा सबस्टेशनको निर्माण गरिनेछ। यसैगरी, ३३/११ केभी, ८ एमभिए क्षमताका दुईवटा सबस्टेशनको निर्माण गरिनेछ। उक्त सबस्टेशनको क्षमता १४८.८ एमभिए हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। यो अनुदान एशियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ।
आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ३० महीनाभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य छ। काम सम्पन्नपश्चात् प्रदेश नं २ को समग्र विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र घरायसी ग्राहकहरूले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताएका छन्।
निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दीप कुमारले प्रतिबद्धता जनाएका छन्। आयोजनाबाट प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा काम हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here