प्रस, निजगढ, ४ चैत/
बाराको सिमरास्थित जगदम्बा स्टील्समा स्थानीय र प्रहरीबीच बुधवार झडप भएको छ। झडपमा स्थानीयले ढुङ्गा प्रहार गर्दा केही प्रहरी घाइते भएका थिए भने प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिएर कुटपिटसमेत गरेको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टील्स प्रालिले आफ्नो क्षेत्र विस्तार गर्दै प्रदूषण फैल्याएपछि स्थानीयवासी आक्रोशित भएपछि प्रहरीसँग झडप भएको हो। सो प्रालिले टिभिएस मोटरसाइकलको शो रूमलगायत पार्टपुर्जाको लागि गोदाम बनाउने भनेर निर्माण गरिएको स्थानमा मेशिन जडान गरी ध्वनि, वायु प्रदूषण गर्न थालेपछि स्थानीयहरूले सोको कडा विरोध गर्दै गेटमा तालाबन्दी गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ सदस्य धनबहादुर श्रेष्ठले बताए। जनताको स्वास्थ्यमाथि जगदम्बाले खेलबाड गर्दै आइरहेको उनले बताए।विगत तीन हप्ताअघिबाट नै स्थानीयले पटक–पटक स्थानीय तह उपमहानगरपालिका, वडा कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरीमा सहमति भए अनुसारको गोदाम राख्न आग्रह गरे पनि प्रहरी, प्रशासनको आडमा मेशिन नै जडान गरी बलजफ्ती कारखाना सञ्चालन गर्न थालेपछि स्थानीय आक्रोशित भएको जीतपुरसिमरा उपमहानगरपालिका–२ का अध्यक्ष तिलकबहादुर श्रेष्ठले बताए।
जगदम्बाले गोदाम घर बनाउने भनेको थियो। अहिले त्यहाँ मेशिन जडान गरिसकिएको छ। हामीलाई कुनै जानकारी छैन। त्यो स्थानीयहरूले थाहा पाएपछि हटाउन माग गर्दै आवाज उठाउँदै आइरहेका छन्। जगदम्बाले प्रहरी प्रशासनको आडमा जबरजस्ती चलाउन खोजिरहेको छ, अध्यक्ष श्रेष्ठले भने।
मेशिन सञ्चालन नगर्न स्थानीयले भन्दै जगदम्बा स्टील्स कम्पनीको गोदाम भनिएको गेटमा ताला लगाइदिए पनि इलाका प्रहरी कार्यालय सिमराको आडमा खोलेपछि आज झडप भएको हो।
सो परिसरमा रहेका आधा दर्शन गाडीमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गरी क्षति पु–याएका छन्। बस्तीसँगै रहेको गोदाम भनिएको स्थानमा मेशिन चलाउँदा ध्वनि प्रदूषण, वायु प्रदूषणलगायतका समस्या आउने स्थानीयहरूको भनाइ छ।