प्रस, पंचगावाँ, ४ चैत/
पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय जङ्गलबाट तीनजना काठ तस्कर पक्राउ परेका छन्।
वडा नं ४ भतौडानजीकै रहेको पर्सा राष्ट्रिय निकुञ्जको चारभैया जङ्गलबाट काँचो सालको गोलिया काठसहित उमेश महतो, राजेश महतो, सरोज मुखिया पक्राउ परेको निकुञ्जले जनाएको छ।
१२ जनाको तस्कर समूहले चारभैया जङ्गलमा काँचो सालको रूख काट्दै गरेको अवस्थामा निकुञ्जको टोलीले तीनजनालाई पक्राउ गरेको र अन्य फरार भएको निकुञ्ज प्रशासनले जनाएको छ। पक्राउ परेका तीनजनाको बयानको आधारमा फरार भएका ९ जनाको खोजतलाश भइरहेको निकुञ्जका सूचना अधिकारी रमेश अधिकारीले बताए।
सो क्षेत्रको भतौडा, गदियानी, कञ्चनपुर बैरिया, सोनवर्षा, देउरिया, निचुटा, जगरनाथपुरलगायतका क्षेत्रमा काठ तस्करी व्यापकरूपमा भइरहेको स्थानीयले बताएका छन्। पक्राउ परेका तीनजनालाई निकुञ्जको कार्यालय आधाभारमा राखिएको सूचना अधिकारी अधिकारीले बताए।