प्रस, वीरगंज, २ चैत/
‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ नाराका साथ सोमवार वीरगंजमा अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र उपभोक्ता हकहित संरक्षण मञ्च पर्साको संयुक्त आयोजनामा घण्टाघरमा प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको थियो। घण्टाघरबाट निकालिएको प्रभातफेरी नगरपरिक्रमा गरी घण्टाघरमा समापन भएको थियो।समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उत्पादन गर्ने व्यक्ति पनि उपभोक्ता भएकाले उपभोग्य वस्तुको उत्पादन आफू अनुकूल गर्नुपर्ने सुझाव दिए। उनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड नगर्न आग्रह गरे। सरकारले लागू गरेको उपभोक्तासम्बन्धी कानून, नीति नियम पालना भए नभएको विषयमा निरन्तर नियमनकारी निकायको अनुगमन हुँदै आएकोमा अझै प्रभावकारी देखाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
उपभोक्ता हकहित संरक्षण मञ्च प्रदेश २ का अध्यक्ष केसी लामिछानेले वीरगंज महानगर उपभोक्तामैत्री नभएको आरोप लगाए। उनले सङ्घ सरकारले उपभोक्तासम्बन्धी कानून ल्याए पनि प्रदेश सरकार र स्थानीय तहले अहिलेसम्म कार्यविधि र निर्देशिकासमेत तयार नगरेको बताए। उनले उपभोक्ता हकहितका लागि सरोकारवालाहरूको चासो फितलो देखिएको र यसमा तदारूकता देखाउनुपर्ने आवश्यकता रहेको बताए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साका प्रमुख जीतबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश अध्यक्ष रामदेवलाल दास, पर्सा अध्यक्ष दिनानाथप्रसाद गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतको सहभागिता थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साका सूचना अधिकारी खड्ग खत्वेले प्रदेश २ का धनुषा, सप्तरी, पर्सालगायतका जिल्लाहरूमा उपभोक्ता सचेतनाका लागि ¥याली, माइकिङ गरिनुका साथै पोस्टर र पम्प्लेट वितरण गरिएको बताए ।