प्रस, वीरगंज, २ चैत/
दोस्रो चरणको कोरोनाविरुद्धको खोप सोमवार समाप्त भएपनि पर्सा जिल्लामा दुई दिन थप गरिएको छ।
सरकारले दोस्रो चरणको खोप फागुन २३ देखि शुरू गरी चैत २ गतेसम्मको समयसीमा दिएको थियो। तर पर्सा जिल्लामा खोप मौज्दात भएको कारण दुई दिन थप गरिएको स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए। उनले २३ गतेदेखि शुरू भएको खोप प्रतिदिन अनुमानित ५ हजारजनालाई लगाइएको बताए। उनले आइतवार साढे ४ हजार र सरकारले तोकेको अन्तिम दिन आज करीब ५ हजारजनालाई खोप लगाइएको बताए।
पर्सा जिल्लाको वीरगंज महानगरपालिकाको ३२ वटै वडा, बहुदरमाई नगरपालिका, कालिकामाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी, छिपहरमाईलगायत सातवटा स्थानीय पालिकामा खोप लगाइएको उनले जानकारी गराए। वीरगंज महानगर र अन्य पालिकाहरूमा ज्येष्ठ नागरिकलगायत यसअघि खोप लगाउन बाँकी रहेका मानिसहरूको उत्साहजनक सहभागिता रहेको उनले जानकारी गराए।
पहिलो र दोस्रो चरणमा पर्सा जिल्लामा खोप लगाएका कसैलाई गम्भीर समस्या नदेखिएको पनि उनले बताए। उनले सामान्यतया खोप लगाएको दिन शरीर दुख्ने, ज्वरो आउने जस्ता सामान्य समस्या देखिए पनि भोलिपल्ट सोको निराकरण भएको बताए।
दोस्रो चरणमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई कोरोनाविरुद्धको खोप दिइएको थियो।
यसैगरी, यसअघि निर्धारण गरिएको मापदण्डमा रही कोरोनाको खोप लिन बाँकीहरूलाई पनि दोस्रो चरणमा खोप दिइएको प्रमुख चौरसियाले बताए।