प्रस, परवानीपुर, १ चैत/
वीरगंज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोधकुमार गुप्ता सर्वसम्मत चयन भएका छन्।
शुक्रवारदेखि शुरू भएको वीरगंज उद्योग वाणिज्य सङ्घको ४५औं साधारणसभाबाट उनी सर्वसहमत अध्यक्ष पदमा चयन भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी गराए। त्यसैगरी, दशजना पदाधिकारी सदस्यको सिटमध्ये ६ वटा सिटमा सर्वसम्मत चयन भएको र बाँकी ४ वटामा निर्वाचनबाट पदाधिकारी निर्वाचित भएको उनले बताए। उनको अनुसार वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल (पटवारी), द्वितीय उपाध्यक्षमा मतदानबाट हरि गौतम निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुनील खेतानले ल्याएको ६ मतको विरुद्ध २६ मत ल्याएर हरि गौतम निर्वाचित भएका हुन् भने महासचिवमा मनोजकुमार दास सर्वसम्मत चयन भएका छन्।सङ्घको वरिष्ठ उपाध्यक्ष पदेन अध्यक्ष बन्ने नियम छ।
त्यसैगरी, कोषाध्यक्षमा नवनीत अग्रवालले ल्याएको १५ मतको विरुद्ध १७ मत ल्याएर गोविन्दप्रसाद शाह निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा अङ्कित चाचानले ल्याएको ५ मतको विरुद्धमा प्रेमचन्द्र गोयलले २७ मत ल्याइ निर्वाचित भएका छन्।
सचिवमा उद्योगतर्फ सुरेश रूँगटाले ल्याएको ९ मतको विरुद्ध अरबिन्द अमात्यले २३ मत ल्याइ निर्वाचित भएका छन् भने वाणिज्य सचिवमा आशिष् लाठ सर्वसम्मत चयन भएका छन्।
उद्योगतर्फ सहसचिवमा सुशान्त चाचान, वाणिज्य सहसचिवमा अनुजकुमार रूँगटा चयन भएका छन्। ३५ सदस्यीय कार्यसमिति सदस्यमा माधव राजपाल, प्रभात रूँगटा, शिवजीप्रसाद, ताराप्रसाद, रवीन्द्र वर्णवाल, मुरली जालानलगायत सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत रामेश्वर सेढाईंले जानकारी दिए। सदस्यहरूबाट तृतीय उपाध्यक्ष अध्यक्षले मनोनीत गर्नेछन्।