प्रस, वीरगंज, १ चैत/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित ढङ्गले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन्।
शिक्षा पत्रकार समाज र आसमान नेपालले आयोजना गरेको विद्यालयमा सुरक्षित सिकाइका लागि नीति निर्माणबारे छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए। उनले शिक्षा क्षेत्र सुधारका लागि सङ्घ र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। उनले महानगरपालिकाले शिक्षामा विशेष ध्यान दिएको बताए। उनले सिद्धार्थ र नृसिंह मावि महानगरपालिकामा आएपछि ती विद्यालयमा सिसिटिभी जडान गरिएको, शिक्षक समयमा उपस्थित गराउन ईहाजिरी लागू भएको, खानेपानीको व्यवस्था गरिएको, सेनेटरी प्याड वितरण, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्युटर ल्याब निर्माण गरिएको बताए।
वीरगंज महानगरपालिकाले डाउन सिन्ड्रोम र अटिज्म भएका बालबालिकाको लागि सिद्धार्थ
माविमा अध्ययनको व्यवस्था मिलाएको, बहिरा महासङ्घसँग सहकार्यमा बहिराहरूलाई आवासीय अध्ययन,
आँखा नदेख्ने बालबालिकालाई त्रिजुद्धमा अध्ययनको व्यवस्था मिलाइएको बताए।
पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाइका लागि सरोकारवाला एक हुनुपर्ने बताइन्। उनले सुरक्षित सिकाइ नहुँदा विद्यार्थीहरू कुण्ठित हुने र उनीहरूको आत्मविश्वासमा कमी आउने बताइन्।
कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव, कालिकामाई गाउँपालिकाका वडाध्यक्ष एवं शिक्षा समितिका अध्यक्ष पवन तिवारीलगायतले शिक्षा क्षेत्रमा रहेका विकृति तथा राजनीति हटाउनुपर्ने बताए।
आसमान नेपाल पर्साका संयोजक मुनीलाल बैठाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।
सुरक्षित सिकाइ कार्यक्रम पर्सा, सर्लाही, लमजुङ्ग, सुर्खेत जिल्लाका २७ पालिका र ६९ वटा विद्यालयमा सञ्चालनमा रहेको आसमान नेपालका कार्यक्रम संयोजक डा वीरेन्द्र सिंहले बताए।