प्रस, सिम्रौनगढ, १ चैत/
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको जटिल परिस्थितिमा पनि काङ्ग्रेसले नै निकास दिने बताएका छन्।
नेपाली काङ्ग्रेसको खेलकूद विभागले बारामा आयोजना गरेको स्व खुमबहादुर खड्का स्मृति नेपाल–भारत अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।बाराको पचरौता नगरपालिकाको वडा नं ५ बेलदारीमा आइतवारदेखि दुई दिनसम्म चल्ने कुश्ती प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै उनले भने, “जब–जब देशमा सङ्कट आएको छ, त्यति बेला काङ्ग्रेस नै जनताको पार्टी बनेर सङ्कटबाट निकास दिएको छ,” उनले भने, “यसपालिको जटिल परिस्थितिमा पनि काङ्ग्रेसले निकास दिनेछ।” उनले संसद् पुनस्र्थापनाको निर्णय गरेर सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको भन्दै आगामी सरकारको नेतृत्वको विषयमा पनि विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र सहमति जुट्यो भने सङ्कटको बेला नेकाले देशलाई निकास दिने उनको जोड थियो।
निजी हेलिकोप्टरबाट दिउँसो साढे १२ बजे बेलदारी पुगेका सभापति देउवा अपराह्न ४ बजे ऐतिहासिक धार्मिकस्थल गढीमाईको दर्शन पनि गरेका थिए। मन्दिर परिसरमा उनलाई ५१ किलोको मालासहित स्वागत गरिएको थियो। दर्शनपछि उनी पुनः काठमाडौं फर्किएका छन्।
कुश्ती प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस खेलकूद विभाग संयोजक तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
काङ्ग्रेसनिकट खेलकूद विभागका केन्द्रीय सदस्य मणिभूषण यादवको अध्यक्षता र सञ्चारकर्मी नीलिमा पौडेलले सहजीकरण गरेको कार्यक्रममा पर्सा, बारा र रौतहटका नेकाका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो। प्रतियोगितामा नेपाल र भारतका दर्जनौं पहलमानले कुश्तीमा सहभागिता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here