प्रस, वीरगंज, २८ फागुन/
पर्साका सातवटा पालिकामा अहिले कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी गराएका छन्।
वीरगंज महानगरपालिकाको ३२ वटै वडामा र बहुदरमाई नगरपालिका, विन्ध्यवासिनी, पकाहामैनपुर, छिपहरमाई, धोबिनी र कालिकामाई गाउँपालिका गरी सातवटा पालिकामा अहिले खोप लगाउने कार्य भइरहेको प्रमुख चौरसियाले बताए। उनले यसअघि सातवटा पालिकामा खोप लगाउने कार्य सकिएको र बाँकी सातवटामा जारी रहेको बताए। दोस्रो चरणको खोप ज्येष्ठ नागरिक लक्षित भएपनि यसमा पहिलो चरणमा निर्धारित क्षेत्रका बाँकी मानिसले पनि लिन सक्ने प्रमुख चौरसियाले बताए। दोस्रो चरणको खोप फागुन २३ देखि सञ्चालन भएको र चैत २ गतेसम्म चल्ने उनले बताए। दोस्रो चरणमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई खोप दिइएको र उनीहरूमा खोप लगाएपश्चात् कुनै ‘साइड इफेक्ट’ नदेखिएको प्रमुख चौरसियाले बताए।विद्यालयमा खोप लगाइएकोमा अभिभावकको गुनासो
दोस्रो चरणको कोरोनाविरुद्धको खोप कालिकामाई गापाको कटिबलुवा आधारभूत विद्यालयमा लगाइएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्।
विद्यालय सञ्चालन भइरहेको बेला ज्येष्ठ नागरिकहरूको लागि विद्यालय परिसरमा खोपकेन्द्र राखेको भन्दै अभिभावकहरूले आक्रोश व्यक्त गरेका थिए। कोरोनाको त्रासबाट समाज मुक्त नभएको र बालबालिकामा झन् ठूलो असर रहेकोले यो बेला कोरोनाविरुद्धको खोप विद्यालयबाट दिनु मानसिक तनाव वृद्धि गर्नु हो भनी अभिभावकहरूले गुनासो गरे। उनीहरूले स्वास्थ्य केन्द्र, चौकीबाट खोप दिने सूचना जारी गरी विद्यालय परिसरमा दिनु चरम लापरवाही भएको बताए।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप संयोजक अनिल सिंहले विद्यालयबाट खोपकेन्द्र हटाउन निर्देशन दिएको बताएका छन्। उनले निर्देशनविपरीत काम गरेकोमा सो गापाका स्वास्थ्य शाखा प्रमुखलाई विद्यालयबाट खोपकेन्द्र हटाउन निर्देशन दिइसकेको बताए।